काठमाडौँमा हुने ‘निफ’मा निर्देशक रमेश सिप्पी र अभिनेता राजेश हमालबीच विशेष संवाद हुने
काठमाडौँ, चैत १४ । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को आगामी संस्करणमा भारतीय चलचित्रका प्रतिष्ठित निर्देशक रमेश सिप्पी र नेपाली चलचित्रका महानायक राजेश हमालबीच विशेष संवाद कार्यक्रम आयोजना हुने भएको छ ।
यही चैत १९ देखि २३ गतेसम्म काठमाडौँमा सञ्चालन हुने महोत्सवमा ‘सिनेमा संवादः रमेश सिप्पी र राजेश हमालसँग’ शीर्षक अन्तर्गत दुई हस्तीबीच अन्तर्क्रिया गराइने महोत्सवका अध्यक्ष केपी पाठकले जानकारी दिनुभयो। उक्त संवाद सत्रमा नेपाली र भारतीय चलचित्रको ऐतिहासिक यात्रा, दुवैका व्यक्तिगत अनुभव, चलचित्र क्षेत्रको वर्तमान अवस्था र भविष्यका चुनौती तथा सम्भावनाका विषयमा केन्द्रित रहेर छलफल गरिने जनाइएको छ।
निर्देशक सिप्पी भारतीय चलचित्र इतिहासकै सर्वाधिक सफल एवं कालजयी चलचित्र ‘शोले’ का निर्देशक हुनुहुन्छ। यस्तै, अभिनेता हमालले नेपाली चलचित्र क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि सक्रिय रहँदै यस क्षेत्रको विकासमा विशिष्ट योगदान पुर्याउनुभएको छ। दुई फरक उद्योगका अनुभवी व्यक्तित्वहरूबीचको यो संवाद चलचित्रकर्मी र विद्यार्थीका लागि अर्थपूर्ण हुने अपेक्षा गरिएको छ।
यस वर्षको महोत्सवमा नेपालसहित विश्वका ४० देशका ८८ वटा चलचित्रहरू प्रदर्शन गरिने आयोजकले जनाएका छन्। महोत्सवमा विभिन्न देशका प्रख्यात चलचित्रकर्मीहरूको समेत सहभागिता रहने अध्यक्ष पाठकले बताउनुभयो।