दाउन्नेमा त्रिपक्षीय सवारी दुर्घटना : तीन जनाको मृत्यु, १५ घाइते

काठमाडौँ, चैत १३ । नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका-४ स्थित दाउन्नेमा गए राति भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गमा भएको उक्त दुर्घटनामा अन्य १५ जना घाइते भएका छन् । प्रहरीका अनुसार गए राति करिब १२:४० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना७ख ९३९८ नम्बरको ट्रकले सोही दिशामा गुडिरहेका लु२ख २३५१ नम्बरको बस र ना५च २२७५ नम्बरको पिकअपलाई ठक्कर दिएको थियो । ठक्करपछि बस र ट्रक सडकबाट तल खसेका थिए भने पिकअप सडकको किनारामा थुप्रिएको थियो ।

दुर्घटनामा ज्यान गुमाउनेहरूमध्ये रोल्पाको बागमारा निवासी २५ वर्षीय गोविन बुढाको पहिचान खुलेको छ । मृत्यु हुने अन्य दुई जना पुरुषको भने पहिचान खुल्न बाँकी रहेको सहायक प्रहरी वरिष्ठ उपरीक्षक तीर्थराज पौडेलले जानकारी दिनुभयो । मृतकहरूमध्ये एक जनाको बसमा च्यापिएकै अवस्थामा मृत्यु भएको थियो ।

दुर्घटनाका घाइतेमध्ये १३ जनाको अवस्थालाई मध्यनजर गर्दै थप उपचारका लागि बुटवलस्थित लुम्बिनी सिटी अस्पताल पठाइएको छ । अन्य दुई जना घाइतेको स्थानीय चिसापानी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।