एमालेको प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त: प्रहरी ब्यारिगेट तोडेर प्रदर्शनकारी बानेश्वरतर्फ
काठमाडौँ, चैत १४ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारीको विरोधमा एमालेका भातृ संगठनहरूले शनिबार काठमाडौँमा उग्र प्रदर्शन गरेका छन्। नेताद्वयको तत्काल रिहाइको माग गर्दै सुरु भएको आन्दोलनका कारण राजधानीको माइतीघर र बानेश्वर क्षेत्रको स्थिति तनावग्रस्त बनेको छ ।
शनिबार दिउँसो माइतीघर मण्डला क्षेत्रमा भेला भएका एमालेका जनसंगठनका नेता तथा कार्यकर्ताहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीसँग झडप भएको थियो। प्रदर्शनकारीहरूले प्रहरीले राखेको सुरक्षा ब्यारिगेट तोडेर नयाँ बानेश्वरतर्फ अगाडि बढेका छन्। प्रदर्शनका कारण सो क्षेत्रको सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ भने सर्वसाधारणले सास्ती खेप्नुपरेको छ ।
प्रदर्शनकारीहरूले वर्तमान सरकार, प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको विरुद्धमा चर्को नाराबाजी गरिरहेका छन्। स्थिति नियन्त्रणमा लिनका लागि ठूलो संख्यामा जनपद र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
अध्यक्ष ओली र नेता लेखकलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको दाबी गर्दै एमालेले देशभर आन्दोलन गर्ने घोषणा गरिसकेको छ। अहिले माइतीघरदेखि बानेश्वरसम्मको सडकमा प्रदर्शनकारीहरूको बाक्लो उपस्थिति रहेको छ र सुरक्षा निकायले उच्च सतर्कता अपनाएको छ ।