काभ्रेका छुट्टाछुट्टै सडक दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौँ, चैत १४ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाका दुई फरक स्थानमा आज भएका सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १६ वर्षीय एक किशोर र ८० वर्षीय एक वृद्ध रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रविन विष्टका अनुसार बनेपा नगरपालिका–३ स्थित तीनघरेमा बसको ठक्करबाट १६ वर्षीय राजेश तामाङको ज्यान गएको हो ।

यसैगरी, बनेपा नगरपालिका–८ मा जिपले ठक्कर दिँदा अर्का एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बनेपा–१० पुलबजार निवासी ८० वर्षीय गङ्गालाल मानन्धर रहनुभएको छ ।

प्रहरीले दुवै दुर्घटनामा संलग्न सवारीसाधन र चालकहरूलाई नियन्त्रणमा लिएको छ । घटनाका सम्बन्धमा थप कानुनी प्रक्रिया र अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।