अध्यक्ष ओली र नेता लेखकको गिरफ्तारीप्रति एमालेको आपत्ति, प्रतिवादका लागि तीन नेतालाई जिम्मेवारी
काठमाडौँ, चैत १४ । नेकपा (एमाले) ले पार्टी अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको गिरफ्तारीलाई ‘प्रतिशोधपूर्ण’ ठहर गर्दै त्यसको राजनीतिक तथा कानुनी रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ । शनिबार बिहान पार्टी केन्द्रीय कार्यालयमा बसेको पाँचौँ सचिवालय बैठकले पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई शनिबार बिहान सूर्योदय हुनुअगावै गरिएको गिरफ्तारीको घोर भर्त्सना गरेको छ। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महासचिव शंकर पोखरेलले उक्त गिरफ्तारी लोकतान्त्रिक मूल्य र कानुनी शासनको मर्मविपरीत रहेको बताउँदै उहाँहरू दुवै जनाको तत्काल रिहाइको माग गर्नुभयो।
प्रतिवादका लागि नेताहरूलाई जिम्मेवारी
बैठकले गिरफ्तारीको राजनीतिक र कानुनी प्रतिवाद गर्न तीन जना शीर्ष नेताहरूलाई विशेष जिम्मेवारी तोकेको छ। महासचिव पोखरेलका अनुसार अन्य राजनीतिक दलहरूसँग समन्वय र संयोजन गर्ने जिम्मेवारी उपाध्यक्ष विष्णु पौडेललाई दिइएको छ । संसदीय दलहरूसँग संवाद र संयोजन गर्ने नेतृत्व उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले गर्नुहुनेछ। आजको सचिवालय बैठकको अध्यक्षता पनि पहिलो वरीयताका उपाध्यक्ष थापाले नै गर्नुभएको थियो। कानुनी प्रतिवादको संयोजन गर्ने जिम्मेवारी गोकर्ण विष्टलाई सुम्पिएको छ ।
यसैगरी, समग्र जनपरिचालनको संयोजन भने पार्टीको केन्द्रीय कार्यालयले गर्ने निर्णय भएको छ।
आयोगको प्रतिवेदनप्रति असहमति
वि.सं. २०८२ भदौ २३ र २४ गतेको घटनासम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको सिफारिसका आधारमा प्रहरीले शनिबार बिहान दुवै नेतालाई पक्राउ गरेको हो। एमालेले उक्त आयोगको प्रतिवेदनलाई पूर्वाग्रही र प्रतिशोधपूर्ण रहेको दाबी गरेको छ। महासचिव पोखरेलले भन्नुभयो, “उक्त आयोगप्रति सर्वोच्च अदालतले समेत गम्भीर प्रश्न उठाएको छ, त्यसैले हामी सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय निष्पक्ष छानबिन आयोग गठनको माग गर्दछौँ।”
आगामी कार्यक्रम
एमालेले आफ्ना अध्यक्ष र कांग्रेस नेता लेखकमाथि गरिएको यस कार्यको विरुद्धमा आइतबार, चैत १५ गते देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारलाई विरोध पत्र बुझाउने कार्यक्रम तय गरेको छ। पार्टीले आफ्ना सम्पूर्ण कार्यकर्ता र शुभचिन्तकहरूलाई विचलित नभई लोकतन्त्र र कानुनी शासनको रक्षाका लागि दृढताका साथ उभिन आह्वान समेत गरेको छ।
आवश्यकता अनुसार अन्य राजनीतिक दलहरूसँग सम्वाद र समन्वय गरी विरोधका थप कार्यक्रमहरू सार्वजनिक गरिने पार्टीले जनाएको छ ।