वीरगञ्ज नाका हुँदै डेढ महिनामा दुई हजारभन्दा बढी ग्यास बुलेट भित्रिए
काठमाडौँ, चैत १४ । वीरगञ्ज भन्सार कार्यालय हुँदै पछिल्लो करिब डेढ महिनाको अवधिमा दुई हजार १३६ वटा एलपी ग्यासका बुलेट नेपाल भित्रिएका छन् । मध्यपूर्वका केही देशमा देखिएको सङ्कटका कारण विश्वव्यापी रूपमा इन्धन आपूर्तिमा चुनौती देखिए पनि यो नाकाबाट ग्यासको आयात सुचारु देखिएको छ ।
एकीकृत भन्सार जाँचचौकी (आईसीपी) को व्यवस्थापन गरिरहेको टिआरएस हिमालयन लजी पार्कका ‘अपरेसन हेड’ गणेश घिमिरेका अनुसार गत फागुन १ गतेदेखि चैत १३ गतेसम्मको अवधिमा उक्त सङ्ख्यामा ग्यास बुलेट भित्रिएका हुन् । प्राप्त तथ्याङ्क अनुसार फागुन महिनामा मात्रै १ हजार ५६० वटा बुलेट भित्रिएका थिए भने चैतको पहिलो १३ दिनमा ५७६ वटा बुलेट नेपाल प्रवेश गरेका छन् । यसअघि गत माघ महिनामा १ हजार ४०३ वटा बुलेट भित्रिएका थिए ।
भन्सार कार्यालयको विवरण अनुसार चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै कुल २० अर्ब ८५ करोड रुपियाँ बराबरको २० करोड २८ लाख २० हजार ९३२ किलो एलपी ग्यास आयात भएको छ ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भने आयातको परिमाण र मूल्यमा केही गिरावट देखिएको छ । गत वर्षको पहिलो सात महिनामा २४ अर्ब ६ करोड रुपैयाँ मूल्य बराबरको २१ करोड ४२ हजार ७८१ किलो एलपी ग्यास आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । नेपालका लागि आवश्यक पर्ने ग्यासको ठूलो हिस्सा वीरगञ्ज नाका भएरै भित्रिने गर्दछ ।