एमाले अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध प्रदर्शन : सात जना पक्राउ
काठमाडौँ, चैत १४ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गिरफ्तारीको विरोधमा उत्रिएका सात जना प्रदर्शनकारीलाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको छ । सिंहदरबारस्थित निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार प्रदर्शनकारीहरूले सुरक्षा घेरा नाघेर संवेदनशील क्षेत्रमा प्रवेश गर्न खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
आज दिउँसो बबरमहल क्षेत्रमा जम्मा भएका एमाले कार्यकर्ताहरूले सडकमा टायर बालेर विरोध प्रदर्शन गरेका थिए । सो क्रममा प्रदर्शनकारी र प्रहरीबीच केही बेर घम्साघम्सी समेत भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्दा केही प्रदर्शनकारी सामान्य घाइते भएका छन् । प्रदर्शनकारीहरू थप उत्तेजित बनेपछि भीडलाई तितरबितर पार्न प्रहरीले एक सेल अश्रुग्यास समेत प्रहार गरेको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।
अध्यक्ष ओलीको गिरफ्तारीपछि एमाले सचिवालयले गरेको निर्णयअनुसार पार्टीका भातृ संगठन र कार्यकर्ताहरू सडक आन्दोलनमा उत्रिएका हुन् । काठमाडौँको माइतीघर, बबरमहल र सिंहदरबारको दक्षिण ढोका अगाडि एमाले कार्यकर्ताहरूले नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन् । सम्भावित थप झडपलाई रोक्न ती क्षेत्रहरूमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।