मुग्लिन–नागढुङ्गा सडक भोलिदेखि तीन रात बन्द हुने, यस्तो छ तालिका

चितवन, १६ चैत । मुग्लिन–नागढुङ्गा सडक खण्डमा भोलि (मङ्गलबार) देखि तीन दिनसम्म रातिको समयमा सवारी आवागमन बन्द गरिने भएको छ । सडक स्तरोन्नति कार्यलाई तीव्रता दिन जिल्ला प्रशासन कार्यालय चितवनले रात्रिकालीन समयमा सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

प्रशासनले जारी गरेको सूचनाअनुसार भोलिदेखि आगामी तीन दिनसम्म राति १०:०० बजेदेखि बिहान ४:०० बजेसम्म सडक पूर्ण रूपमा बन्द रहनेछ । मुग्लिन–नागढुङ्गा सडक आयोजनाअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिर लगायतका चुनौतीपूर्ण स्थानहरूमा मर्मत तथा विस्तारको काम भइरहेकाले यो व्यवस्था लागू गरिएको हो ।

चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार दिउँसोको समयमा सवारी साधनको चाप अत्यधिक हुने र निर्माण कार्य गर्दा लामो जाम हुने भएकाले रात्रिकालीन समय रोजिएको हो । “सडकको स्तरोन्नति कार्यलाई सुरक्षित र छिटो सम्पन्न गर्न राति सडक बन्द गरेर काम गर्न लागिएको हो,” उहाँले भन्नुभयो ।

प्रशासनले सो समयमा उक्त सडक खण्ड भएर यात्रा गर्ने यात्रुहरूलाई पर्न सक्ने असुविधाप्रति ध्यान दिँदै वैकल्पिक मार्ग प्रयोग गर्न वा समय तालिका हेरेर मात्र आफ्नो यात्रा तय गर्न अनुरोध गरेको छ । विशेषगरी एम्बुलेन्स र दमकल जस्ता अत्यावश्यक सवारी साधनको हकमा भने समन्वय गरेर पास गराइने जनाइएको छ ।