नयाँ सरकारप्रति आशा भन्दा निरासा बढी रोकिएन विदेश जानेको लहर, वैशाखमा मात्रै ७४ हजार बढी रोजगारीका लागि विदेश गए
काठमाडौं, ५ जेठ । जेनजी आन्दोलनपछि बनेको अन्तरिक सरकारले गराएको चुनावपछि अहिले मुलुकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार छ । रास्वपाले सबै भन्दा बढी दिएको आश्वासन भनेको स्वदेशमै रोजगारीको अवसर हो ।
अहिले विदेशमा रहेका युवाहरुले पनि रास्वपाको त्यहि आश्वासनलाई पत्याएर समर्थन गर्दै आएका छन् । स्थीर सरकार र स्वदेशमै रोजगारीको अवसरको आश्वासनलाई पत्याएर नागरिकले रास्वपालाई दुईतिहाई नजिकको सरकार बनाउने हैसियत दिए । तर, रास्वपा नेतृत्वको सरकार बने पनि वैदेशिक रोजगारीमा जानेहरुको संख्यालाई हेर्ने हो भने त्यस्तो देखिदैँन । स्थीर सरकारपछि युवाहरुमा स्वदेशमै बस्ने योजना बन्नुपर्ने हो । त्यति मात्रै होइन वैदेशिक रोजगारीमा जानेको संख्यामा पनि कमी आउनु पर्ने हो भने तर यथार्थमा भने त्यस्तो केही देखिएन ।
वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार वैशाख महिनामा ७४ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । सोही तथ्याङ्क अनुसार वैशाखमा ७४ हजार ४ सय २९ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृति सहित) लिएका छन् । तथ्याङ्क अनुसार खाडी, मलेसिया जानेहरुको संख्या अत्याधिक छ । त्यसपछि जापान, साइप्रस र टर्की जानेहरुको संख्या बढी देखिएको छ ।
यसरी वैदेशिक रोजगारीमा जानेको संख्या पुरुषको बढी देखिएको छ । ६५ हजार १० पुरुष र ९ हजार ४ सय १९ महिला रहेको पनि विभागको तथ्याङ्कमा उल्लेख छ । चैत २०८२ मा ६१ हजार ८ सय १९ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृति सहित) लिएर वैदेशिक रोजगारीमा गएको तथ्याङ्क विभागसँग छ । चैतको तुलनामा वैशाखमा १२ हजार ६ सय १० जना बढीले वैदेशिक रोजगारीमा गएको तथ्याङ्कमा देखिन्छ ।
चालु आर्थिक वर्ष साउनदेखि वैशाख मसान्तसम्ममा ६ लाख ६१ हजार ७ सय ६१ नेपाली वैदेशिक रोजगारीमा गएका छन् । जसमा ५ लाख ८२ हजार ९ सय ३९ पुरुष र ७८ हजार ८ सय २२ महिला छन् ।