नेप्से परिसूचकमा सुधार, कारोबार रकम भने खुम्चियो
काठमाडौँ, १७ चैत्र । लगातार दुई दिनदेखि ओरालो लागिरहेको धितोपत्र बजार मापक नेप्से परिसूचक मङ्गलबार भने बढेर बन्द भएको छ । कारोबारको सुरुआतमा घटेर दुई हजार आठ सय विन्दुभन्दा तल झरेको नेप्से परिसूचक अन्ततः टेवा पाएर उकालो लागेको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मङ्गलबार नेप्से परिसूचक १९.७० अङ्कले बढेर २८५१.०९ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ परिसूचक ३.२६, फ्लोट परिसूचक १.२४ र सेन्सेटिभ फ्लोट परिसूचक १.०२ अङ्कले बढेको छ ।
नेप्से बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । सोमबार करिब रु १३ अर्ब बराबरको सेयर खरिदबिक्री भएको बजारमा मङ्गलबार रु ११ अर्ब ११ करोड २४ लाख १८ हजार बराबरको कारोबार भएको छ । आज ३३९ कम्पनीका दुई करोड ७९ लाख ४२ हजार कित्ता सेयर एक लाख ३७ हजार ८५७ पटक खरिदबिक्री भएका छन् ।
मङ्गलबार पाँचवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी र होटल फरेष्ट इनको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । साथै, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । यता, कारोबारमा आएको सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक ८.९६ प्रतिशतले गुमाएका छन् ।
कारोबार रकमका आधारमा मङ्गलबार रिडी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ४८ करोड ४८ लाख बराबरको सेयर किनबेच भयो । त्यस्तै, अपि पावर कम्पनीको करिब रु ४१ करोड र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे ३७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
नेप्सेका १३ उपसमूहमध्ये ११ वटाको परिसूचक बढेको छ भने दुईवटाको घटेको छ । उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.९४ प्रतिशतले वृद्धि हुँदा वित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढेको छ ।