रेमिट्यान्स आप्रवाह: ८ महिनामै भित्रियो साढे १४ खर्ब, शोधनान्तर बचत साढे ६ खर्ब नाघ्यो

काठमाडौँ, २० चैत । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा मुलुकको अर्थतन्त्रको बाह्य क्षेत्र निकै मजबुद देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको फागुन मसान्तसम्मको तथ्याङ्कअनुसार रेमिट्यान्स (विप्रेषण) आप्रवाहमा ३७.७ प्रतिशतको ऐतिहासिक वृद्धि भई १४ खर्ब ४९ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाहमा ९.५ प्रतिशतको मात्र वृद्धि देखिएको थियो ।

अमेरिकी डलरमा समेत रेमिट्यान्स आप्रवाह उत्साहजनक देखिएको छ । समीक्षा अवधिमा डलरमा ३१ प्रतिशतले वृद्धि भई १० अर्ब १५ करोड डलर भित्रिएको छ । गत फागुन महिनामा मात्रै १ खर्ब ८८ अर्ब ६४ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको केन्द्रीय बैंकको प्रतिवेदनमा उल्लेख छ ।

मुलुकको भुक्तानी सन्तुलन देखाउने शोधनान्तर स्थिति फागुन मसान्तसम्म ६ खर्ब ५८ अर्ब ३५ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत ३ खर्ब १० अर्ब ३७ करोड रुपैयाँ मात्र थियो ।
यसैगरी, चालु खाता ५ खर्ब ५२ अर्ब ८५ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्ष १ खर्ब ९७ अर्ब ३ करोड मात्र बचतमा रहेको चालु खातामा यस वर्ष उल्लेख्य सुधार आएको हो । खुद द्वितीय आय (खुद ट्रान्सफर) समेत बढेर १५ खर्ब ९१ अर्ब ६६ करोड पुगेको छ ।

समीक्षा अवधिमा प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) १० अर्ब ८४ करोड रुपैयाँ भित्रिएको छ, जुन अघिल्लो वर्ष ८ अर्ब ४७ करोड मात्र थियो ।

यता वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (नयाँ) लिने नेपालीको सङ्ख्यामा भने केही गिरावट आएको छ । फागुन मसान्तसम्म २ लाख ७३ हजार ५३६ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् भने २ लाख ५१ हजार ९८५ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । अघिल्लो वर्ष नयाँ श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख १७ हजार बढी थियो ।

रेमिट्यान्समा भएको यो उल्लेख्य वृद्धि र शोधनान्तर बचतले मुलुकको विदेशी मुद्रा सञ्चितिमा थप योगदान पुर्‍याएको छ, जसले अर्थतन्त्रको बाह्य स्थायित्वलाई थप मजबुद बनाएको छ ।