भक्तपुरमा दशौँ औद्योगिक महोत्सवको तयारी तीव्र : पाँच करोडको कारोबार र दुई लाख दर्शकको अपेक्षा
काठमाडौँ, चैत २१ । नयाँ वर्ष २०८३ तथा ऐतिहासिक विस्काः जात्राको पावन अवसरमा भक्तपुरमा ‘दशौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव’ आयोजना हुने भएको छ । औद्योगिक शान्ति नेपाल र मध्यपुर ब्वाइज व्याण्डको संयुक्त आयोजनामा यही चैत २६ गतेदेखि आगामी वैशाख ६ गतेसम्म भक्तपुरको सल्लाघारीमा सञ्चालन हुने उक्त महोत्सवको तयारी हाल तीव्र रूपमा अगाडि बढाइएको छ ।
भक्तपुरलाई उद्योग, संस्कृति र कृषिको सङ्गमस्थलका रूपमा स्थापित गर्ने मुख्य उद्देश्यका साथ महोत्सवको आयोजना गरिएको महोत्सवका संयोजक दीपक थापाले जानकारी दिनुभयो । उहाँका अनुसार, उपभोक्तालाई एउटै थलोमा सुलभ मूल्यमा दैनिक उपभोग्य वस्तुहरू उपलब्ध गराउनुका साथै स्थानीय उत्पादन र व्यवसायको प्रवर्धनमा महोत्सवले टेवा पुर्याउने छ ।
महोत्सवमा १८० भन्दा बढी प्रदर्शनी कक्ष (स्टल) हरू रहनेछन् । ती स्टलहरूमा खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्रीहरूका साथै औद्योगिक उत्पादन, सूचना प्रविधि, अटोमोबाइल, कृषि औजार, इलेक्ट्रोनिक्स र मोबाइल सामग्रीहरूको प्रदर्शन एवं बिक्री गरिनेछ ।
यस वर्षको महोत्सवको विशेष आकर्षणका रूपमा ‘लन्डन ब्रिज’ को प्रतिकृति (स्ट्याचु) रहने आयोजकले जनाएको छ । बालबालिकाको मनोरञ्जनका लागि रोटे पिङ, ड्रागन ट्रेन, नाउलगायतका विभिन्न खेल साधनहरूको व्यवस्था गरिएको छ । त्यसैगरी, महोत्सवमा दैनिक रूपमा विभिन्न परिकारसहितको खाना महोत्सव, फेसन शो, नृत्य, हास्यव्यङ्ग्य र ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरूको साङ्गीतिक प्रस्तुति समेत रहनेछ ।
आयोजक संस्थाका अध्यक्ष सन्दिप महतका अनुसार महोत्सवले स्थानीय उत्पादनलाई बजारसँग जोड्न र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्नेछ । महोत्सवको अन्तिम दुई दिन, वैशाख ५ र ६ गते विशेष साङ्गीतिक कार्यक्रम (कन्सर्ट) आयोजना हुने समेत जानकारी दिइएको छ ।
करिब ११ दिनसम्म चल्ने यस महोत्सवमा रु पाँच करोडभन्दा बढीको आर्थिक कारोबार हुने र दुई लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने आयोजकको प्रारम्भिक अनुमान रहेको छ ।