बिर्तामोडमा घरको तीन तलाबाट खसेर पाँच वर्षीया बालिकाको मृत्यु
झापा, २१ चैत । झापाको बिर्तामोडमा आफन्तकहाँ पाहुना आएकी एक बालिकाको घरको तीन तला माथिबाट खसेर मृत्यु भएको छ । दमक नगरपालिका–४ स्थायी घर भएकी ५ वर्षीया मानस्वी आचार्यको शनिबार उपचारका क्रममा ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिर्तामोड नगरपालिका–५ स्थित मञ्जु उप्रेतीको घरमा ताप्लेजुङ, फुङलिङ नगरपालिका–३ का हेमसागर भट्टराईको कोठामा ती बालिका पाहुना आएकी थिइन् । खेल्ने क्रममा तेस्रो तलाको झ्यालबाट अचानक खसेर उनी गम्भीर घाइते भएकी थिइन् ।
प्रहरी उपरीक्षक (एसपी) वसुन्धरा खड्काका अनुसार गम्भीर घाइते बालिकालाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेज पुर्याइएको थियो । अस्पतालमा उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
घटना सार्वजनिक भएलगत्तै प्रहरीले घटनास्थलको प्रारम्भिक निरीक्षण गरेको छ । परिवारमा शोक छाएको यस घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।