माथिल्लो मुस्ताङ र मुक्तिनाथ क्षेत्रमा भारी हिमपात, जनजीवन प्रभावित तर बर्खे बालीलाई फाइदा
मुस्ताङ, २२ चैत । हिमाली जिल्ला मुस्ताङको माथिल्लो क्षेत्र र प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ आसपासमा शनिबार रातिदेखि भारी हिमपात भइरहेको छ । जारी हिउँदयाममा यस क्षेत्रमा परेको यो छैटौँ हिमपात हो । यसअघि यहाँ कात्तिक १० गते पहिलो पटक हिउँ परेको थियो ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलका अनुसार, वारागुङ मुक्तिक्षेत्र–३ स्याङ्बोचेदेखि कोरला नाकासम्मका डाँडाकाँडा हिउँले सेताम्मे भएका छन् । माथिल्लो मुस्ताङका बस्ती क्षेत्रमा एक फिटसम्म हिउँ जमेको छ । स्याङ्बोचेभन्दा माथिका घिलिङ, घमी, चराङ, लोमान्थाङ, ठिङ्गर, छोसेर, सम्जुङ, यारा, घारा लगायतका स्थानमा निरन्तर हिमपात भइरहेको छ ।
लोमान्थाङ गाउँपालिकाका कर्मचारी उदय तिमिल्सिनाले शनिबार रातिदेखि सुरु भएको हिमपात नरोकिएको जानकारी दिए । “हिउँ पर्ने क्रम अझै जारी छ, साँझसम्म यही अवस्था रहे दुई फिटभन्दा बढी हिउँ जम्ने अनुमान छ,” उनले भने ।
लगातारको हिमपात र त्यससँगै बढेको अत्यधिक चिसोले स्थानीय जनजीवन कष्टकर बनेको छ । उच्च लेकका चरन क्षेत्रहरू पूरै हिउँले ढाकिएपछि पशुपालन गर्ने किसानलाई सास्ती भएको छ । यद्यपि, माथिल्लो मुस्ताङमा जाडो छलेर फर्किएका नागरिकले बर्खे बाली लगाउने तयारी गरिरहेको अवस्थामा भएको यो हिमपातले कृषिलाई भने फाइदा पुग्ने बताइएको छ । यहाँ वर्षमा एक पटक मात्र खेती हुने गर्दछ ।
यसैगरी, मुक्तिनाथ क्षेत्रका खिङ्गा, झारकोट, पुडाक र छेङ्गुर लगायतका स्थानमा पनि भारी हिमपात भएको छ । स्थानीय कैसाङ ठोक्या ठकुरीका अनुसार, हिउँका कारण दर्शनार्थीलाई आवतजावतमा केही कठिनाइ भए पनि हिमपात पछिको सुन्दरताले पर्यटकहरू भने निकै उत्साहित बनेका छन् ।
माथिल्लो मुस्ताङमा हिमपात भइरहँदा सदरमुकाम जोमसोम र त्यसभन्दा तल्लो क्षेत्रमा भने भारी वर्षा भएको छ । बेँसीमा भएको वर्षा र लेकमा भएको हिमपातले मुख्य नगदेबालीका रूपमा रहेको स्याउखेतीलाई भने नराम्रो असर पुर्याएको छ ।
घरपझोङ गाउँपालिकाका कृषि शाखा अधिकृत रोशन थकालीले स्याउ फुल्ने समयमा भएको यो मौसम परिवर्तन किसानका लागि हानिकारक रहेको बताए । “यतिबेला स्याउको बोटमा फूल खेल्न थालिसकेको छ । यो परागसेचन हुने समय पनि हो,” अधिकृत थकालीले भने, “यस्तो बेलामा भारी वर्षा र हिमपात हुनु स्याउ उत्पादनका लागि राम्रो मानिँदैन ।”
पछिल्लो समय हिमाली जिल्लाहरूमा देखिने असमान मौसमी चक्रलाई जानकारहरूले जलवायु परिवर्तनको असरका रूपमा विश्लेषण गरेका छन् । मुस्ताङमा विगत तीन वर्षसम्म हिउँदयाममा खासै हिमपात हुन सकेको थिएन । तर, यस वर्ष भने एउटै सिजनमा छ पटकसम्म हिउँ परेको छ । कुनै वर्ष हिउँ नै नपर्ने त कुनै वर्ष भारी हिमपात हुने यस्ता प्राकृतिक परिवर्तनले हिमाली जनजीवन र कृषि प्रणालीमा प्रत्यक्ष असर पर्न थालेको छ ।