वीरगन्ज नाकाबाट विद्युतीय सवारीको आयात ह्वात्तै बढ्यो : सात महिनामा भित्रिए ४९७ गाडी
वीरगन्ज, २२ चैत । पछिल्लो समय नेपालमा विद्युतीय सवारीसाधन (ईभी) प्रति उपभोक्ताको आकर्षण बढेसँगै वीरगन्ज नाका हुँदै भित्रिने विद्युतीय गाडीको आयातमा उल्लेख्य वृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो सात महिनामा वीरगन्ज भन्सार हुँदै झन्डै पाँच सयवटा विद्युतीय जिप, कार र भ्यान आयात भएका छन् ।
वीरगन्ज भन्सार कार्यालयका अनुसार, चालु आवको सात महिनामा १ अर्ब ४८ करोड ६४ लाख रुपैयाँ बराबरका ४९७ वटा विद्युतीय जिप, कार र भ्यान नेपाल भित्रिएका छन् । यी सवारीसाधनको आयातबाट भन्सार कार्यालयले ९६ करोड ३६ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो सङ्ख्या झन्डै तेब्बरले बढी हो । गत वर्ष यही अवधिमा ४३ करोड १ लाख रुपैयाँ मूल्य बराबरका १६५ वटा मात्रै विद्युतीय गाडी आयात भएका थिए, जसबाट ३५ करोड ५० लाख रुपैयाँ राजस्व उठेको थियो । वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत वर्षको तुलनामा चारपाङ्ग्रे विद्युतीय सवारीसाधनको आयात ह्वात्तै बढेको जानकारी दिए ।
चारपाङ्ग्रे विद्युतीय सवारीको आयात बढे पनि दुईपाङ्ग्रे विद्युतीय सवारी (मोटरसाइकल/स्कुटर) को आयात सङ्ख्या भने घटेको छ । यद्यपि, आयातित मोटरसाइकलको कुल मूल्य भने बढेको तथ्याङ्कले देखाउँछ ।
चालु आवको सात महिनामा ८० करोड ५७ लाख रुपैयाँ मूल्य बराबरका १ हजार १२८ वटा विद्युतीय मोटरसाइकल आयात भएका छन् । जबकि, गत आवको सोही अवधिमा ४४ करोड ३ लाख रुपैयाँ मूल्यका ३ हजार ३७४ वटा विद्युतीय मोटरसाइकल भित्रिएका थिए ।
एकातिर विद्युतीय गाडीको आयात बढ्दा इन्धन (पेट्रोल÷डिजेल) बाट चल्ने सवारीसाधनको आयात भने घटेको छ । चालु आवको सात महिनामा १ अर्ब १६ करोड १३ लाख रुपैयाँ बराबरका ६०९ वटा इन्धनबाट चल्ने गाडी भित्रिएका छन् । यसबाट कार्यालयले २ अर्ब ८६ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
गत वर्षको सोही अवधिमा १ अर्ब ५० करोड रुपैयाँ मूल्यका ७४८ वटा इन्धनबाट चल्ने गाडी आयात भएका थिए, जसबाट ३ अर्ब ७३ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।
चालु आर्थिक वर्षको पहिलो सात महिनामा वीरगन्ज नाका हुँदै समग्रमा २३ अर्ब ५७ करोड रुपैयाँ मूल्य बराबरका विभिन्न प्रकारका सवारीसाधन र तिनका पार्टपुर्जा भित्रिएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा १७ अर्ब १५ करोड रुपैयाँ मूल्य बराबरका सवारीसाधन र पार्टपुर्जा आयात हुँदा कार्यालयले १३ अर्ब २६ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।