शेयर बजारमा ‘धरपकड होइन, सुधार’ हुन्छ : अर्थमन्त्री वाग्ले, लगानीकर्तालाई नआत्तिन आग्रह

काठमाडौं, २३ चैत । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजारप्रति सरकारको नीति पूर्ण रूपमा उदार रहेको स्पष्ट पारेका छन्। साना लगानीकर्तालाई लक्षित गरी सरकारले कुनै धरपकड अभियान नचलाएको भन्दै उनले बजारमा फैलाइएको त्रास निराधार रहेको बताएका छन्।

आइतबार एक कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले सेयर बजारलाई त्रसित पार्ने गतिविधि अनुचित भएको बताए। “सरकारले साना लगानीकर्तामाथि कारबाही गर्ने वा तर्साउने कुनै उद्देश्य राखेको छैन,” उनले भने, “हाम्रो नीति धरपकड गर्ने होइन, प्रणालीगत सुधार गर्ने हो।”

अर्थमन्त्री वाग्लेले नेपालको सेयर बजार अन्य धेरै क्षेत्रभन्दा व्यवस्थित र पारदर्शी रहेको दाबी गरे। पेपरलेस (कागजरहित) प्रणाली, बैंकिङ च्यानलमार्फत कारोबार, बैंक खातामै सोझै लाभांश जम्मा हुने व्यवस्था र स्पष्ट कर प्रणालीले यसलाई विश्वसनीय बनाएको उनको भनाइ छ।

“हामीले स्टक मार्केटलाई डिजिटलाइजेसनको नमुना (मोडल) क्षेत्रका रूपमा लिएका छौँ। भविष्यमा अन्य क्षेत्रलाई पनि यही मोडलमा लैजाने सरकारको लक्ष्य छ,” उनले भने।

लगानीकर्तालाई ‘सम्पत्तिको स्रोत कहाँबाट ल्यायौ ?’ भनेर सोध्ने अवस्था नरहेको र धरपकडको नीति नलिएको उनले प्रस्ट पारे। यद्यपि, इन्साइडर ट्रेडिङ (भित्री कारोबार), बजार म्यानुपुलेसन (चलखेल) वा अन्य अनैतिक तथा गैरकानुनी गतिविधिमा संलग्न हुनेहरूलाई भने कानुनबमोजिम कारबाही हुने उनले चेतावनी दिए।

पछिल्लो समय बजारमा देखिएको गिरावटबाट निराश नहुन लगानीकर्तालाई आग्रह गर्दै अर्थमन्त्रीले भने, “अहिले बजार घटेको अवस्थामा अत्तालिनु आवश्यक छैन, सुनौला दिन आउँदैछन्। सरकार पाँच वर्षका लागि आएको हो, एक साताको उतारचढाव हेरेर निष्कर्ष निकाल्नु हुँदैन।”

उनले नेप्सेको पुनःसंरचनासम्बन्धी प्रतिवेदन अध्ययन गरी आवश्यक सुधार लागू गरिने र लगानीकर्तामैत्री नीति अवलम्बन गरिने प्रतिबद्धता जनाए।

अर्थमन्त्री वाग्लेले नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को ‘ग्रे लिस्ट’ (खैरो सूची) बाट बाहिर निकाल्नु सरकारको प्रमुख प्राथमिकता रहेको बताए। ‘ग्रे लिस्ट’का कारण अन्तर्राष्ट्रियस्तरमा देशको छवि बिग्रिनुका साथै लगानीको वातावरणमा नकारात्मक असर परेको उनको बुझाइ छ।