राष्ट्र बैंकले आज नयाँ डेपुटी गभर्नर पाउँदै

काठमाडौं, २४ चैत्र । नेपाल राष्ट्र बैंकमा करिब एक महिनादेखि रिक्त रहेका दुई डेपुटी गभर्नर पदमा आज (मंगलबार) नियुक्ति हुने सम्भावना छ। दिउँसो १ बजे बस्ने मन्त्रिपरिषद् बैठकले बहालवाला १८ जना कार्यकारी निर्देशकमध्येबाट दुई जनालाई उक्त जिम्मेवारी दिने तयारी गरेको छ।

यससँगै यसपटकको नियुक्तिमा परम्परागत ज्येष्ठता (फाइल बढुवा) भन्दा आन्तरिक प्रतिस्पर्धा र क्षमता हाबी हुने देखिएको छ।

सोमबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. वाग्ले र गभर्नर पौडेलबीच डेपुटी गभर्नर नियुक्तिकै विषयमा छलफल भएको थियो। स्रोतका अनुसार सोही भेटमा अर्थमन्त्रीले कार्यक्षमतामा अब्बल अनुहारलाई सिफारिस गर्न भनेका हुन्।

विद्यमान कानुनी व्यवस्थाअनुसार गभर्नरले राष्ट्र बैंकका कार्यकारी निर्देशकमध्येबाट चार जनाको नाम सिफारिस गर्नुपर्ने हुन्छ। गभर्नरले सिफारिस गरेका तिनै चार जनामध्येबाट मन्त्रिपरिषद्ले दुई जनालाई डेपुटी गभर्नरमा नियुक्त गर्ने प्रावधान छ।