पेट्रोलियम पदार्थको कर ५० प्रतिशत घट्यो : उपभोक्तालाई राहत

काठमाडौं, २४ चैत । सरकारले पेट्रोलियम पदार्थमा लाग्ने भन्सार र पूर्वाधार करमा ५० प्रतिशत (आधा) छुट दिने महत्त्वपूर्ण निर्णय गरेको छ । मध्यपूर्वको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकाशिएपछि उपभोक्तालाई राहत दिन सरकारले यस्तो कदम चालेको हो ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोल, डिजेल र मट्टीतेलमा लाग्दै आएको कर आधा घटाउने निर्णय गरेको हो । यो निर्णयसँगै नेपाल आयल निगममाथिको वित्तीय भार कम हुनेछ ।

करमा छुटपछि यस्तो छ नयाँ दर :
पेट्रोलको भन्सार शुल्क : प्रतिलिटर २५ रुपैयाँबाट घटेर साढे १२ रुपैयाँ कायम ।
डिजेलको भन्सार शुल्क : प्रतिलिटर १२ रुपैयाँबाट घटेर ६ रुपैयाँ कायम ।
पूर्वाधार कर : प्रतिलिटर १० रुपैयाँ लाग्दै आएकोमा अब ५ रुपैयाँ मात्र लाग्ने ।

आयल निगमका अधिकारीहरूका अनुसार हाल निगमलाई डिजेलमा प्रतिलिटर १२० रुपैयाँ र पेट्रोलमा ३४ रुपैयाँ घाटा छ । लगातारको मूल्यवृद्धिका कारण पछिल्लो एक महिनाको अवधिमा मात्रै निगमले करिब ११ अर्ब रुपैयाँ नोक्सानी बेहोरेको छ । सरकारले कर घटाएसँगै निगमलाई केही राहत मिल्ने अपेक्षा गरिएको छ ।