सेयर बजारमा सामान्य करेक्सन : नेप्सेसँगै कारोबार रकम पनि खुम्चियो

काठमाडौं, २४ चैत्र । सोमबार उच्च अङ्कले बढेको सेयर बजारमा मंगलबार भने सामान्य करेक्सन देखिएको छ । नेप्से परिसूचकसँगै यस दिन कारोबार रकममा पनि गिरावट आएको छ ।

सोमबार ८३ अङ्कले बढेको नेप्से परिसूचक मंगलबार २.६१ अङ्कले घटेर २ हजार ७५७.४० को बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.७८, फ्लोट इन्डेक्स ०.२७ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३२ अङ्कले घटेका छन् ।

नेप्सेसँगै कारोबार रकममा पनि उल्लेखनीय गिरावट आएको छ । सोमबार १० अर्ब ९२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा मंगलबार ६ अर्ब ७३ करोड ७१ लाख रुपैयाँमा सीमित भएको छ । यस दिन ३४५ कम्पनीका १ करोड ७४ लाख ६ हजार कित्ता सेयर ८१ हजार ५८२ पटक खरिदबिक्री भएका छन् ।

समग्र बजार घटे पनि यस दिन ६ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । भुजुङ्ग हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, श्वेतगंगा हाइड्रोपावर, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र होटल फरेष्ट इनले सकारात्मक सर्किट लेभलमा कारोबार गरेका छन् । त्रिशुली जलविद्युत कम्पनीको सेयर मूल्य पनि साढे ८ प्रतिशतभन्दा बढीले बढेको छ । यता, एनआईबिएल ग्रोथ फन्डका इकाईधनीले सर्वाधिक ७.०८ प्रतिशत गुमाएका छन् ।

मंगलबार कारोबार रकमका आधारमा ङादी ग्रुप पावर शीर्ष स्थानमा रह्यो । यस कम्पनीको २४ करोड २२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । रिलायन्स स्पिनिङ मिल्सको २४ करोड र आँखु खोला जलविद्युतको साढे २३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

यस दिन १३ उपसमूहमध्ये ४ वटा (होटल तथा पर्यटन, बैंकिङ, हाइड्रोपावर र अन्य) को परिसूचक बढेको छ भने व्यापारसहित ९ उपसमूहको परिसूचक घटेको छ ।