सुनको मूल्य फेरि बढ्याे : तोलामा २२ सयले वृद्धि, चाँदी पनि महँगियो

काठमाडौं, २७ चैत्र । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ । अघिल्लो दिन (बिहीबार) घटेको सुनको मूल्य आज प्रतितोला २ हजार २०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ९०० रुपैयाँ कायम गरिएको छ । हिजो बिहीबार सुन प्रतितोला २ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

सुनसँगै आज चाँदीको मूल्य पनि महँगिएको छ । महासङ्घका अनुसार चाँदी तोलामा ८५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ९६० रुपैयाँ पुगेको छ । बिहीबार चाँदी प्रतितोला ४ हजार ८७५ रुपैयाँमा कारोबार भएको थियो ।

यस साता सुनचाँदीको मूल्यमा उच्च उतारचढाव देखिएको छ । यसअघि गत बुधबार बजारमा सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार र चाँदीको मूल्य ५ हजार २५ रुपैयाँ कायम भएको थियो । बिहीबार घटेको मूल्य आज फेरि बढेको हो ।