सुनसरीबाट स्रोत नखुलेको ६ लाख ६९ हजारसहित एक नेपालीसहित दुई जना पक्राउ

सुनसरी, २८ चैत । सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीबाट प्रहरीले स्रोत नखुलेको ६ लाख ६९ हजार ७१० रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । भारतबाट अवैध रूपमा रकम ओसारपसार गरिरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शुक्रबार उनीहरूलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केशव थेबेका अनुसार पक्राउ पर्नेमा सप्तरीको तिलाठी कोइलारी गाउँपालिका–५ का ५८ वर्षीय रामलखन यादव र भारतको सुपौल जिल्ला, छिटही हनुमाननगर ग्राम पञ्चायत–१५ का ६५ वर्षीय प्रभु मुखिया रहेका छन् ।

भारतबाट मोटरसाइकलमा सवार भई नेपालतर्फ आउँदै गरेका उनीहरूलाई सीमा क्षेत्रमा शङ्का लागेर जाँच गर्ने क्रममा उक्त रकम फेला परेको थियो । बरामद गरिएको रकमको वैधानिक स्रोत खुलाउन नसकेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई बरामद नगदसहित आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।