बाँकेमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी: वनको हैसियत सुधारसँगै उपभोक्ताको आयआर्जनमा वृद्धि

काठमाडौँ, चैत २८ । बाँके जिल्लाका सामुदायिक वनहरूमा सञ्चालित ‘दिगो वन व्यवस्थापन कार्यक्रम’ अत्यन्त प्रभावकारी देखिएको छ । यस कार्यक्रमको कार्यान्वयनसँगै वनको संरक्षण, जैविक विविधताको प्रवर्धन र स्थानीय उपभोक्ताको जीविकोपार्जनमा सकारात्मक परिवर्तन आएको छ ।

डिभिजन वन कार्यालय बाँकेका सिनियर डिभिजनल वन अधिकृत शंकरप्रसाद गुप्ताका अनुसार, दिगो वन व्यवस्थापन लागू भएपछि लोपोन्मुख प्रजातिहरू सतिसाल, साज र मौवाको संरक्षणमा उल्लेख्य सफलता मिलेको छ । साथै, बहुमूल्य काठका रूपमा रहेका साल, खयर र अस्ना जस्ता प्रजातिको पुनरुत्पादन र प्रवद्र्धन भएसँगै वनको समग्र हैसियतमा सुधार आएको छ ।

बाँके जिल्लामा हाल कूल २६ हजार ११६ हेक्टर क्षेत्रफलमा फैलिएका ११९ वटा सामुदायिक वन रहेका छन् । तीमध्ये ३५ वटा सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम लागू गरिएको छ । यसबाहेक जिल्लामा दुईवटा सरकारी चक्ला वनसमेत सञ्चालनमा छन् । पछिल्लो समय राप्तीसोनारी गाउँपालिका–१, ३ र ४ मा दुई हजार ७०० हेक्टर क्षेत्रफलमा ‘भुवरभवानी चक्ला वन’ व्यवस्थापन सुरु गरिएको छ भने यसअघि नै दुई हजार २६८ हेक्टरमा ‘शमशेरगञ्ज–माथेवास चक्ला वन’ सञ्चालनमा रहेको थियो ।

वरिष्ठ वन अधिकृत सुशील सुवेदीले सुरुमा ११ वटा सामुदायिक वनबाट प्रारम्भ गरिएको यो कार्यक्रम हाल वन संवद्र्धन प्रणालीमा आधारित भएर विस्तार भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार, वन व्यवस्थापनका गतिविधिले गर्दा स्थानीय उपभोक्ताका लागि यो आयआर्जनको बलियो स्रोत बनेको छ र रोजगारीका अवसरहरू सिर्जना भएका छन् ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी एवं वरिष्ठ वन अधिकृत टङ्क गुरुङले यस कार्यक्रमको सबल पक्षका रूपमा वन व्यवस्थापनका काममा महिला र पुरुषलाई समान ज्याला उपलब्ध गराइनुलाई लिनुभयो । उपभोक्ताहरूले झाडी सफाइ र पुनरुत्पादन संरक्षणका काममा सक्रियता देखाएपछि समूहको आयआर्जनमा तीनदेखि आठ गुणासम्म वृद्धि भएको छ ।

वन व्यवस्थापनका कारण वन घना र व्यवस्थित हुँदै जाँदा कोहलपुर क्षेत्रका वनहरूमा हुँडार, चौका र गिद्धजस्ता दुर्लभ वन्यजन्तु तथा पक्षीहरूको उपयुक्त बासस्थानसमेत तयार हुन थालेको कार्यालयले जनाएको छ ।