नारायणगढ–बुटवल सडक विस्तार: ८१ प्रतिशत भौतिक प्रगति, सडक सुरक्षाको काम तीव्र
नवलपरासी, १६ वैशाख । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नारायणगढ–बुटवल सडक विस्तार अन्तर्गत निर्माण सम्पन्न भइसकेका खण्डहरूमा अहिले सडक सुरक्षाका पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिइएको छ । सडक विस्तारसँगै सवारी दुर्घटना न्यूनीकरणका लागि आयोजनाले सुरक्षासम्बन्धी काम सुरु गरेको हो ।
आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार निर्माण सकिएका स्थानमा सडक सुरक्षाका विभिन्न कामहरू भइरहेका छन् । जसअन्तर्गत: सडकमा सेतो र पहेँलो रङको ट्राफिक चिह्न (रोड मार्किङ) बनाउने । बीचको डिभाइडरमा रङ लगाउने र मुख्य सडक तथा सहायक सडकको बीचमा सिमेन्ट बार राख्ने ।
गति सीमा (स्पिड लिमिट) जनाउने सङ्केत बोर्डहरू जडान गर्ने । सडकको छेउमा रेलिङ, डब्लु–बिम (W-Beam) र डेलिनेटर पोलहरू राख्ने काम भइरहेकाे छ ।
“सडक निर्माणको काम अन्तिम चरणमा पुग्दै गर्दा हामीले यात्रु र सवारीसाधनको सुरक्षालाई प्राथमिकता दिएर यी कामहरू अघि बढाएका हौँ,” सूचना अधिकारी खनालले भन्नुभयो ।
नवलपरासीको ६५ किलोमिटर लामो पूर्वी खण्डमा भौतिक प्रगति ८१ प्रतिशत पुगेको छ । खनालका अनुसार अब यो खण्डमा मात्र सात किलोमिटर सडक कच्ची अवस्थामा छ, बाँकी सबै क्षेत्रमा कालोपत्र भइसकेको छ । हाल दाउन्ने क्षेत्र बाहेक अन्य स्थानमा यात्रा निकै सहज भएको आयोजनाले जनाएको छ ।
चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले वि.सं. २०७५ माघ २४ गते सम्झौता गरी यस सडकको विस्तार कार्य सुरु गरेको थियो । सुरुको लक्ष्यअनुसार २०७९ साउनमै काम सकिनुपर्ने भए पनि विभिन्न कारणले ढिलाइ हुँदा अहिले चौथो पटक म्याद थप गरिएको छ । थपिएको म्याद अनुसार आगामी साउनसम्ममा काम सम्पन्न गर्नुपर्ने चुनौती छ ।
एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सञ्चालित यो आयोजनाको कुल लागत १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ रहेको छ । कुल ११३ किलोमिटर लामो यो सडकलाई दुई खण्डमा विभाजन गरी निर्माण भइरहेको छ ।
विस्तारपछि यो सडकको ७० किलोमिटर खण्ड चार लेनको हुनेछ भने २९ किलोमिटरमा दुवैतर्फ ६–६ मिटरको सर्भिस लेनसहित कुल ६ लेनको हुनेछ । उकालो र कठिन भूगोल रहेको दाउन्ने क्षेत्रको १४ किलोमिटर खण्ड भने तीन लेनको मात्र रहने आयोजनाले जनाएको छ ।