अध्यादेशको प्रतिवाद गर्न कांग्रेसले बोलायो विपक्षी दलको बैठक, साझा रणनीति बनाइने
काठमाडौँ, १६ वैशाख । सरकारले संसद् छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याएपछि त्यसको प्रतिवाद गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा आज मध्याह्न १२ बजे बैठक बस्ने तय भएको छ। प्रमुख विपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले सरकारको पछिल्लो कदमबारे साझा धारणा बनाउन विपक्षी दलहरूलाई छलफलमा आमन्त्रण गर्नुभएको हो।
बैठकमा सहभागी हुन नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेताहरूलाई बोलाइएको छ। संसद् अधिवेशन अन्त्य गरेलगत्तै ‘चोरबाटो’ बाट अध्यादेश ल्याउने सरकारको ‘अलोकतान्त्रिक’ शैलीविरुद्ध कसरी अगाडि बढ्ने भन्नेबारे विपक्षीहरूले रणनीति तयार गर्ने बताइएको छ।
सरकारले मंगलबार मात्रै संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको थियो। लगत्तै कांग्रेस नेता आङ्देम्बेले सरकारको यो कदम सार्वभौम संसद्को अपमान र बलमिच्याइँ भएको टिप्पणी गर्नुभएको छ।
“दुई तिहाइ नजिकको बहुमत हुँदाहुँदै पनि सरकारले आफ्नै पार्टीको बहुमत र संसद्लाई किन अविश्वास गरिरहेको छ?” आङ्देम्बेले प्रश्न गर्नुभयो, “लोकतन्त्र, जनअभिमत र संविधानको मर्म मिच्न खोज्ने सरकारको यो कदमलाई प्रतिपक्षले टुलुटुलु हेरेर बस्दैन।”
गत सोमबारको मन्त्रिपरिषद् बैठकले अध्यादेश ल्याउने निर्णय गरे पनि सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले पत्रकार सम्मेलनमा यसबारे कुनै जानकारी गराउनुभएको थिएन। सरकारले निर्णय गोप्य राखेर सिधै राष्ट्रपति कार्यालय पठाएपछि विपक्षी दलहरू थप चिढिएका छन्।
एमाले, राप्रपा लगायतका दलहरूले पनि सरकारको यो कदमले संसद्को औचित्यमाथि प्रहार गरेको भन्दै कडा विरोध जनाइसकेका छन्।