चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुपले ‘आइपिओ’ निष्कासन गर्ने, ४ प्रतिशत नगद लाभांश पारित

काठमाडौँ,  चैत २९ । चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीको आज काठमाडौँमा सम्पन्न प्रथम वार्षिक साधारणसभाले आइपिओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरेको हो ।

५० करोड रुपियाँ अधिकृत पुँजी रहेको यस कम्पनीको साधारणसभाले आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको चार प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत अनुमोदन गरेको छ । सभाले अध्यक्ष राजन श्रेष्ठद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनलाई सर्वसम्मतिले पारित गरेको छ ।

साधारणसभाले कम्पनीको सञ्चालक समितिमा ६ जना सदस्यहरूलाई निर्विरोध निर्वाचित गरेको छ । नवनिर्वाचित सञ्चालकहरूमा राजन श्रेष्ठ, रामराजा आचार्य, प्रकाशमान श्रेष्ठ, धीरेन्द्र श्रेष्ठ, शङ्कर महर्जन र वीरेन्द्र श्रेष्ठ रहनुभएको छ ।

एक होल्डिङ कम्पनीका रूपमा स्थापित यस संस्थाले विभिन्न क्षेत्रमा आफ्नो लगानी विस्तार गरेको छ । अध्यक्ष श्रेष्ठका अनुसार कम्पनीले हालसम्म इन्द्रेणी मस्रुम फार्म, द निलय होटल्स लिमिटेड, काउले भाइनियार्ड एग्रो, एभरेष्ट कलर र मेरो किसान लगायतका विभिन्न व्यावसायिक प्रतिष्ठानहरूमा लगानी गरिसकेको छ ।