अमेरिकाका विरोधीलाई सहयोग गर्नेहरूमाथि भिसा प्रतिबन्ध, कूटनीतिक क्षेत्रमा प्रभाव पर्ने सङ्केत

एजेन्सी, ४ वैशाख । संयुक्त राज्य अमेरिकाको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रिय स्वार्थ र सुरक्षाका ‘विरोधी शक्ति’हरूलाई सहयोग पुर्‍याउने व्यक्तिहरूमाथि भिसा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। वासिङ्टनले चालेको यो नयाँ कदमले अमेरिकासँग कूटनीतिक सम्बन्ध रहेका विभिन्न मुलुकका राजनीतिक तथा प्रशासनिक व्यक्तित्वहरूमा समेत प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार, अमेरिकाका शत्रु मानिएका मुलुक वा समूहहरूलाई रणनीतिक, सैन्य वा गुप्तचरी सूचनामार्फत सहयोग पुर्‍याउने जो–कोहीलाई अब अमेरिका प्रवेशमा रोक लगाइनेछ। यो नीतिले विशेष गरी ती मुलुकका अधिकारीहरूलाई लक्षित गरेको बुझिएको छ, जो अमेरिकासँगको सम्बन्धका बाबजुद अन्य प्रतिस्पर्धी शक्ति राष्ट्रहरूसँग रणनीतिक सहकार्यमा संलग्न छन्।

यो निर्णय सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय कूटनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ। यसअघि अमेरिकाले मानव अधिकार उल्लङ्घन, भ्रष्टाचार र लोकतन्त्र विरोधी गतिविधिमा संलग्न व्यक्तिहरूमाथि मात्र यस्तो प्रतिबन्ध लगाउँदै आएको थियो। तर, यसपटक ‘अमेरिकी विरोधी शक्तिलाई सहयोग’ भन्ने बुँदा थपिएपछि यसको दायरा अझ फराकिलो र कडा बनेको विश्लेषण गरिएको छ।

यस कदमले विशेष गरी दक्षिण एसिया, मध्यपूर्व र पूर्वी युरोपका ती मुलुकहरूमा प्रभाव पार्न सक्नेछ जहाँ अमेरिकी र अन्य शक्ति राष्ट्रहरूको सामरिक प्रतिस्पर्धा चर्किएको छ। कूटनीतिक विज्ञहरूका अनुसार यो निर्णयले सम्बन्धित देशका राजनीतिक नेतृत्व र उच्च पदस्थ कर्मचारीहरूलाई थप दबाबमा पार्नेछ।

अमेरिकी सरकारले यो प्रतिबन्ध कुन–कुन देशका कति व्यक्तिमाथि लगाइएको हो भन्ने विस्तृत विवरण भने हालसम्म गोप्य नै राखेको छ। यद्यपि, राष्ट्रिय सुरक्षामा चुनौती पुर्‍याउने जो–कोहीमाथि विना सूचना यो नियम लागू हुनसक्ने विदेश मन्त्रालयले स्पष्ट पारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *