काठमाडौँको प्राचीनचता फिर्ता गराउन कार्यवाहक प्रमुखको नेतृत्वबाट नतिजा प्राप्त हुँदै : हरेक शनिवार असन क्षेत्रमा विशेष कार्यक्रम गरिने

काठमाडौँ , बैशाख ४ । काठमाडौँको प्राचीन सहरी बस्ती असनको मौलिकता फिर्ता गराउन हरेक शनिवार त्यस क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गरिने भएको छ । वडा नं. २७ कार्यालयको नेतृत्व, अन्नपूर्ण आरसीटी क्लवसहित स्थानीय क्लव, टोल सुधार समिति, गुठियार, सरोकारवाला र साझेदारहरुको सहभागिता तथा स्थानीय अपनत्वमा कार्यक्रम सुरु हुने आज आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको हो । महानगरपालिकाको सभा कक्षमा कार्यवाहक प्रमुख सुनिता डंगोलसहितको भेटघाट कार्यक्रममा प्रवक्ता नविन मानन्धरले यस सम्बन्धी जानकारी दिनुभएको हो । त्यस अवसरमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, वडा नं. २७ का अध्यक्ष योगेशकुमार खड्गी, वडा नं. २५ का अध्यक्ष राजेश डंगोलसहित पदाधिकारी हुनुहुन्थ्यो ।

कार्यक्रम कःमिलाछी (कमलाक्षी) चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्म र महाबौद्धबाट असनसम्मको क्षेत्रमा सञ्चालन हुनेछ । हरेक शनिवार सञ्चालन हुने यो कार्यक्रम अवधिमा कार्यक्रम सञ्चालन हुने क्षेत्रमा सवारी साधन प्रवेश निषेध गरिनेछ ।

कार्यक्रममा प्रस्तुत प्रेस विज्ञप्तिको पूर्ण पाठ
महानगरपालिकाका कार्यवाहक प्रमुख डंगोल, प्रवक्ता मानन्धर, सम्पदा समितिका संयोजक,
आफ्नो भौगोलिक तथा प्रशासनिक क्षेत्रभित्रका मूर्त, अमूर्त, प्राकृतिक तथा अभिलेख सम्पदाको संरक्षण, संवर्धन र प्रवर्धनका लागि काठमाडौँ महानगरपालिकाले निरन्तर काम गरिरहेको छ । यसरी गरिने कामले काठमाडौँको सांस्कृतिक पहिचान, सहरभित्रका परम्परागत जीवनशैली, जात्रा पर्व, संस्कार संस्कृति पुस्तान्तरण हुँदै जानेछ । पूर्खाको ज्ञान र सिपले निरन्तरता पाउनेछ ।

यस क्रममा २०८३ वैशाख ५ गते शनिवारदेखि जीवन्त र समृद्ध (असं) असन नारासहित असन क्षेत्रमा सामाजिक, सांस्कृतिक तथा परम्परागत गतिविधिहरु प्रारम्भ हुँदैछन् । आधुनिकताभित्र प्रवेश गर्दै गरेको असन बजार, यस क्षेत्रमा भएका भौतिक सम्पदा, यस क्षेत्रसँग सम्बन्धित अभौतिक सम्पदाको पुनरुत्थान गर्ने उद्देश्यसहित यो कार्यक्रम थालिने भएको हो ।

मानवीय तथा सवारी आवागमन चापका कारण पछिल्लो समय काठमाडौँका भित्री सहरी क्षेत्रमा व्यवस्थापकीय चुनौती थपिएका छन् । सांस्कृतिक तथा सामाजिक चलनलाई मौलिक स्वरुपमा निरन्तरता दिन कठिन हुन थालेको छ । परम्परागत चिनारी हराउन थालेका छन् । नुनदेखि सुनसम्म अर्थात् जन्मदेखि मृत्यु पर्यन्तका संस्कार र संस्कृतिमा चाहिने सामान पाइने ठाउँ, वीउ विजन र विरुवा पाइने ठाउँ, परम्परागत उपचार पद्धति भएको र आयुर्वेदिक औषधि पाइने ठाउँ नासिँदै गएको छ । यसले वस्तु तथा सामान मात्र नासेको छैन । काठमाडौँको पहिचानमा समेत नकारात्मक प्रभाव पारेको छ ।

यो असर र नकारात्मक प्रभाव रोक्न तथा पूर्खाको ज्ञान, सिपमा आधारित धार्मिक, सांस्कृतिक र सामाजिक जीवनशैलीको पुनरुत्थान गर्ने प्रयास हो, जीवन्त र समृद्ध (असं) असन कार्यक्रम ।

सम्पदासँग सम्बन्धित काम गर्दा महानगरपालिकाले गुठियार, समुदाय तथा सरोकारवालासँग समन्वय गर्ने गरेको छ । नेवार सभ्यतामा आधारित काठमाडौँका सांस्कृतिक तथा सामाजिक चालचलन तथा क्रियाकलापहरु कुनै समयमा सरकारबाट कुनै पनि प्रकारको सहयोग नलिइ समुदायले आफ्नै लगानी र सहभागितामा चलाउँदै आएका परम्परा हुन् । जनजीवनसँग जोडिएका संस्कार सञ्चालन गर्न आवश्यक पर्ने भौतिक संरचना पनि समुदायकै योगदानमा निर्माण हुने परम्परा हो । समुदायको यो सवलता नै नेवार संस्कृतिको जग हो ।

यो जग जोगाउन असन क्षेत्रमा सामाजिक तथा सांस्कृतिक, रैथाने ज्ञान तथा सिपको प्रदर्शनी, गायन, वादन तथा नृत्यलगायत क्रियाकलाप सञ्चालन हुनेछन् । त्यस क्षेत्रमा भएका जीवन्त मूर्त अमूर्त सम्पदा बचावट गर्ने, संरक्षण र प्रवर्धन गर्ने, परम्परागत धार्मिक, सांस्कृतिक, सामाजिक तथा परम्परागत व्यापारिक क्रियाकलापहरुको प्रदर्शन र प्रवर्धनात्मक क्रियाकलाप सञ्चालन हुनेछन् ।

वडा नं. २७ कार्यालयको नेतृत्व, अन्नपूर्ण आरसीटी क्लवसहित स्थानीय क्लव, टोल सुधार समिति, गुठियार, सरोकारवाला र साझेदारहरुको सहभागिता तथा स्थानीय अपनत्वमा सुरु हुने कार्यक्रम कःमिलाछी (कमलाक्षी) चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्म र महाबौद्धबाट असनसम्मको क्षेत्रमा सञ्चालन हुनेछ । हरेक शनिवार सञ्चालन हुने यो कार्यक्रम अवधिमा कार्यक्रम सञ्चालन हुने क्षेत्रमा सवारी साधन प्रवेश निषेध गरिनेछ ।

कार्यक्रम सञ्चालन अवधिमा जमलतर्फ कःमिलाछी (कमलाछी) सिंह ढोकाबाट असनतर्फ सवारी प्रवेश गर्न पाइनेछैन । यस्तै भोटाहिटी कलश ढोकाबाट असनतर्फ प्रवेश पाइनेछैन । वीर अस्पतालबाट महावौद्ध स्तुपतर्फ सवारी प्रवेश निषेध हुनेछ । वटु गणेश र भोँसीको स्थित गणेश मन्दिरबाट महावौद्ध स्तुपतर्फ प्रवेश पाइनेछैन । इन्द्रचोकबाट सवारी प्रवेश रोकिनेछ । मच्छिन्द्र वहाल, मांस गल्लीबाट मोटरसाइकल समेत प्रवेश रोकिनेछ । त्यौड गल्ली हुँदै अगाडि गोसिफबाट अगाडि प्रवेश पाइनेछैन । गोसिफबाट इनबहाल इनबहाल गणेश मन्दिर जान सकिनेछ । गणेश मन्दिरबाट पिलांतु गल्लीतर्फ प्रवेश निषेध हुनेछ । न्हकेटलाबाट असनतर्फ जान पाइनेछैन । कान्तिपथ तर्फ ज्याठा अन्नपूर्ण स्कूलबाट भमुलु गल्लीतर्फ प्रवेश रोकिनेछ ।

यो क्षेत्र भएर सवारी धनीहरुले वैकल्पिक मार्गको प्रयोग गर्नुपर्नेछ । यस्तै यस दिन असन आउने आगन्तुकहरुले धरहरा भूमिगत पार्किङ्, जमल वहाल, दरबार हाइस्कूल तथा अन्य तोकिएका स्थानमा सवारी साधन राखेर पैदल यात्राबाट असन प्रवेश गर्नुपर्नेछ । यसरी सञ्चालन गरिने कार्यक्रमले स्थानीयबासीहरुको उद्यमशील तथा व्यावसायिक विकास हुनेछ । बालबालिका तथा ज्येष्ठ नागरिकलाई निर्वाध सडकमा हिँड्ने अवसर प्राप्त हुनेछ । यसले असन बजारको मौलिकता बढाउन योगदान दिनेछ । यस्तै वायु प्रदुषण नियन्त्रण र सहरी वातावरणीय सुधारमा योगदान गर्नेछ ।

वडा २७ ले सञ्चालन गर्ने कार्यक्रमसँगै वडा २५ क्षेत्रमा पनि कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको छ । यसका लागि वडाले समुदाय स्तरमा छलफल सञ्चालन गरिरहेको छ । छलफलका क्रममा परम्परागत कथन सुन्ने (स्टोरी टेलिङ्), धातु कला, माटोबाट सामान बनाउने कला, महसुस यात्रा, न्यासे बने नु, डवली पुनरुत्थानका कार्यक्रम सञ्चालन गर्नु पर्ने सुझाव प्राप्त भएका छन् ।

निःशुल्क वाटर एटीएम मेसिन सञ्चालन
वैशाख ५ गते नै निःशुल्क वाटर एटीएम मेसिन शुभारम्भ हुनेछ । काठमाडौैँ महानगरपालिकाभित्र करिब २ करोड ६० लाख रुपियाँको लागतमा ८ वटा वाटर एटीएम वुथ निर्माण भएका छन् । काठमाडौँ महानगरपालिका र उपत्यका खानेपानी व्यवस्थापन बोर्डको समान लागत सहभागितामा निर्माण भएका यी वाटर एटीएमबाट राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ स्तरको पिउने पानी निःशुल्क उपलब्ध हुनेछ ।

नेपाली मौलिक शैलीमा निर्माण गरिएका यी वुथहरुमा ३ हजार लिटर पानी भण्डारण क्षमता छ । काठमाडौँको खुला मञ्च, महावौद्ध, राष्ट्रिय सभा गृह, दरबार हाइ स्कूल बाहिर, वडा नं. १७ लिङ्क रोड ढल्को चोक, वडा नं. ५ नरःदे (हाँडीगाउँ), वडा नं. २६ परिसर र वडा नं. ३१ परिसरमा यो प्रणाली जडान भएको छ ।