काठमाडौँ महानगर वडा नं. २७ द्वारा ३२ जना विशिष्ठ व्यक्तित्व सम्मानित
काठमाडौँ, वैशाख ६ । काठमाडौँ महानगरपालिका वडा नं. २७ ले विभिन्न क्षेत्रमा राष्ट्रिय योगदान पुर्याउने ३२ जना वडाबासी व्यक्तित्वहरूलाई विशेष समारोहका बीच सम्मान गरेको छ ।
नेपाल व्यायाम मन्दिरमा आयोजित उक्त कार्यक्रममा स्वास्थ्य, शिक्षा, सामाजिक विकास, गायन, वादन र खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने १९ जना विशिष्ठ व्यक्तित्वहरूलाई सम्मान गरिएको हो। साथै, ५ जना सामाजिक व्यक्तित्व र ८ जना पूर्व वडाध्यक्षहरूलाई मरणोपरान्त सम्मान प्रदान गरिएको छ। काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रवक्ता नवीन मानन्धर र वडाध्यक्ष योगेशकुमार खड्गीले उहाँहरूलाई माला, दोसल्ला र सम्मान पत्र प्रदान गर्नुभएको थियो।
मरणोपरान्त सम्मान
मरणोपरान्त सम्मानित हुने पूर्व वडाध्यक्षहरूमा पहिलो निर्वाचित अध्यक्ष साधना प्रधान, इतिहासकार भुवनलाल प्रधान, गोपालदास मानन्धर, हरिनारायण महर्जन, हरिबहादुर श्रेष्ठ, सागर मिश्र, अमरविरसिंह तुलाधर र कृष्ण नारायण श्रेष्ठ हुनुहुन्छ।
त्यसैगरी सामाजिक क्षेत्रतर्फ शास्त्रीय संगीतकर्मी हुतराज झा, सामाजिक अभियन्ता द्रव्यमान सिंह तुलाधर, यातायात व्यवस्थापन क्षेत्रका लुँपौरत्न तुलाधर र करुणारत्न तुलाधर तथा प्राध्यापक शंकरप्रसाद प्रधानलाई मरणोपरान्त सम्मान प्रदान गरिएको छ।
सम्मानित हुने अन्य व्यक्तित्वहरू
यस वर्ष सम्मानित हुनेहरूमा औषधि उद्योगी महेश प्रधान, समाजशास्त्री रिना बनियाँ, हवाई उड्डयन विज्ञ मनिषरत्न शाक्य, द्वारिकाप्रसाद राजभण्डारी, रवि कंसाकार र वनस्पतिशास्त्री स्वयम्भूरत्न तुलाधर हुनुहुन्छ। कला र शिक्षा क्षेत्रबाट सितार बादक ताराविरसिंह तुलाधर, सिनेम्याटोग्राफर रवि सायमी, गणित अध्येता सुगममान तुलाधर, कलाकार गौत्तमरत्न तुलाधर, शिक्षाविद डा. सुमनकमल तुलाधर र सहसचिव गजेन्द्रलाल प्रधान सम्मानित हुनुभएको छ।
त्यस्तै, स्वास्थ्य क्षेत्रबाट डा. मनिषरत्न बज्राचार्य, डा. मनिलरत्न बज्राचार्य र डा. संगीता श्रेष्ठ तथा खेलकुद क्षेत्रबाट राष्ट्रिय महिला फुटबल प्रशिक्षक प्रकाश वैद्य लगायत सम्मानित हुनुभएको छ।
कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोलले समाजको सन्तुलित विकास र सम्पदा संरक्षणमा वडाले खेल्दै आएको भूमिकाको प्रशंसा गर्नुभयो। उहाँले भन्नुभयो, “वडाका हरेक आयाममा समान दृष्टि राखेर सेवा प्रवाह र सम्मानका कार्यक्रम अघि बढाउनु अनुकरणीय कार्य हो।”
वडाध्यक्ष योगेश कुमार खड्गीले वडामा जन्मिएर विभिन्न क्षेत्रमा पुगेका व्यक्तित्वहरूको कदर गर्न र आपसी सद्भाव कायम राख्न सम्मान कार्यक्रमलाई निरन्तरता दिइएको बताउनुभयो। वडा सदस्य सृष्टि कंसाकारले अग्रजहरूको सम्मानले नयाँ पुस्तालाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
तीन वर्षमा ८१ जना सम्मानित
वडा कार्यालयले २०७९ सालदेखि सुरु गरेको यस सम्मान अभियान अन्तर्गत हालसम्म ८१ जना सम्मानित भइसकेका छन्। पहिलो वर्ष १५ जना, दोस्रो वर्ष १४ जना र तेस्रो वर्ष २० जनालाई सम्मान गरिएको वडाले जनाएको छ ।