वन्यजन्तु संरक्षणको सन्देशसहित नवलपुरमा ‘राइनो संरक्षण गोल्डकप’ आयोजना हुने
काठमाडौँ, वैशाख ६ । दुर्लभ एकसिङ्गे गैँडा संरक्षणको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा ‘राइनो संरक्षण गोल्डकप’ फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ । उक्त प्रतियोगिता आगामी वैशाख १२ देखि २३ गतेसम्म मध्यविन्दु नगरपालिका-२ स्थित राइनो रङ्गशालामा सञ्चालन हुनेछ ।
आयोजक राइनो क्लबका अध्यक्ष दोमनबहादुर भण्डारीका अनुसार आठौँ संस्करणका रूपमा आयोजना हुन लागेको यस प्रतियोगितामा विभागीय क्लबसहित देशभरका ११ र भारतको कोलकाताबाट एक गरी कुल १२ टिमको सहभागिता रहनेछ । उहाँले आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा वन्यजन्तु संरक्षणको चेतना फैलाउन खेलकुदलाई माध्यम बनाइएको जानकारी दिनुभयो ।
अध्यक्ष भण्डारीले भन्नुभयो, “खेलकुदको माध्यमबाट युवा पुस्तामा वन, वन्यजन्तु तथा वातावरण संरक्षणप्रति चेतनाको विकास गर्न र यस क्षेत्रको पर्यापर्यटन एवं खेलकुद पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउन यसले सहयोग गर्नेछ ।” उहाँले वन्यजन्तुको चोरी–सिकारविरुद्ध जनसमुदायलाई सङ्गठित र मर्यादित रूपमा अघि बढ्न यो प्रतियोगिताले थप प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रतियोगिताका बारेमा धारणा राख्दै गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव श्रीधर शर्माले खेलका माध्यमबाट वातावरण संरक्षणको चेतना अभिवृद्धि गराउनु एक सकारात्मक र प्रशंसनीय पहल भएको बताउनुभयो । यस प्रतियोगिताको विजेताले आठ लाख र उपविजेताले चार लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताका प्रचारप्रसार संयोजक विष्णुप्रसाद शर्माले आगामी लक्ष्यका बारेमा जानकारी दिँदै पाँच वर्षभित्र दक्षिण एसियाली राष्ट्रहरूबीच ‘दक्षिण एसियाली राइनो संरक्षण एसिएन कप’ र १० वर्षभित्र विश्वस्तरमा ‘राइनो संरक्षण मैत्रीपूर्ण विश्वकप’ आयोजना गर्ने बृहत् योजना रहेको बताउनुभयो ।