इरान युद्धपछि अमेरिकासँगको ‘विशेष सम्बन्ध’ मा चिसोपना : ब्रेक्सिटपछिको नीति बदल्दै बेलायत पुनः युरोपतिरै ढल्कियो
एजेन्सी, ६ बैशाख । इरान युद्ध र त्यससँग जोडिएको कूटनीतिक तनावले अमेरिकासँगको परम्परागत ‘विशेष सम्बन्ध’ मा चिसोपना ल्याएपछि बेलायत पुनः युरोपेली सङ्घ (ईयू) तर्फ नजिकिने रणनीतिमा जुटेको छ ।
प्रधानमन्त्री किर स्टार्मर नेतृत्वको लेबर सरकारले आगामी महिना नयाँ कानुनमार्फत युरोपसँगको आर्थिक र व्यापारिक सम्बन्धलाई पुनर्संरचना गर्ने तयारी थालेको छ । अन्तर्राष्ट्रिय शक्ति सन्तुलन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अप्रत्याशित नीतिका कारण बेलायतको यो कदमलाई निकै महत्त्वपूर्ण मानिएको छ ।
सरकारले बेलायतलाई क्रमशः ईयूका नियमहरूसँग मिलाउन सक्ने अधिकारसहितको ‘ईयू रिसेट’ (डायनामिक एलाइनमेन्ट) विधेयक संसद्मा पेस गर्ने तयारी गरेको छ । एक सरकारी अधिकारीका अनुसार आगामी मे १३ मा राजा चाल्र्स तृतीयले संसद्मा सरकारको नीति तथा कार्यक्रम (विधायी योजना) प्रस्तुत गर्दा यसबारे औपचारिक घोषणा गरिनेछ ।
यस प्रस्तावित कानुनअन्तर्गत खाद्य तथा वनस्पति निर्यातमा देखिएका झन्झट हटाउने, बेलायतलाई ईयूको आन्तरिक विद्युत् बजारसँग जोड्ने र युवा आवागमनलाई सहज बनाउने योजना समावेश छन् ।
यद्यपि, प्रधानमन्त्री स्टार्मरले बेलायतलाई पुनः ईयूको ‘एकल बजार’ (सिंगल मार्केट) मा फर्काउने वा स्वतन्त्र आवागमन पुनःस्थापना गर्ने सम्भावनालाई भने अस्वीकार गर्नुभएको छ । तर, विपक्षी लिबरल डेमोक्रेट्सले भन्सार सङ्घको सम्भावनाबारे पनि छलफल अघि बढाउनुपर्ने धारणा राखेको छ ।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि सुरु गरेको आक्रमणमा बेलायतलाई प्रत्यक्ष संलग्न गराउन प्रधानमन्त्री स्टार्मरले अस्वीकार गरेपछि ट्रम्प प्रशासन लन्डनसँग रुष्ट बनेको थियो । ट्रम्पले बेलायतसँगको व्यापार सम्झौता खारेज गर्नेसम्मको धम्की दिएपछि दुई देशबीचको सम्बन्ध थप तनावपूर्ण बनेको छ ।
ब्रिटिस फरेन पोलिसी ग्रुपका निर्देशक इभी एस्पिनलका अनुसार, इरान सङ्कट र ट्रम्पको कठोर अभिव्यक्तिले पहिले नै युरोपसँग नजिकिन चाहिरहेको बेलायती सरकारलाई थप गति दिएको छ । ब्रेक्सिटपछिका व्यापार नीतिविज्ञ डेभिड हेनिगले पनि स्वतन्त्र व्यापार नीतिभन्दा ईयूसँगको सहकार्य नै बेलायतका लागि व्यावहारिक विकल्प रहेको औँल्याउनुभएको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले इरान द्वन्द्वबाट सबैभन्दा बढी प्रभावित हुने उन्नत अर्थतन्त्रमध्ये बेलायत पर्ने चेतावनी दिएको छ । बेलायतका अर्थमन्त्री रेचल रिभ्सले ट्रम्पले स्पष्ट रणनीतिविना युद्ध सुरु गर्दा बेलायती अर्थतन्त्र र आम परिवारको जीवनयापनमा ठूलो असर परेको आरोप लगाउनुभएको छ ।
सन् २०१६ मा भएको ‘ब्रेक्सिट’ (ईयूबाट बाहिरिने) जनमतसङ्ग्रह अझै पनि बेलायती राजनीतिमा संवेदनशील विषय हो । निगेल फराज नेतृत्वको ‘रिफर्म युके पार्टी’ ले ईयूसँग नजिकिने प्रयासलाई जनमतसङ्ग्रहको ‘विश्वासघात’ भनेर आलोचना गरिरहेको छ ।
तर, पछिल्ला सर्वेक्षणहरूले धेरैजसो बेलायती मतदाताले ईयू छोड्ने निर्णयप्रति पछुतो व्यक्त गरिरहेको देखाएका छन् । अमेरिकासँगको सम्बन्ध कमजोर बन्दै जाँदा ईयूसँग घनिष्ठ सम्बन्ध बनाउने पक्षमा जनमत बढ्दै जानुलाई स्टार्मर सरकारले रणनीतिक अवसरका रूपमा लिएको विश्लेषकहरू बताउँछन् ।