महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफी: इटालीमाथि नेपालको ५० रनको सानदार जित
काठमाडौँ, ६ वैशाख । रुवाण्डामा जारी पहिलो संस्करणको आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीमा नेपालले आफ्नो दोस्रो खेलमा इटालीमाथि ५० रनको सानदार जित दर्ता गरेको छ । शनिबार भएको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपालले आइतबार उत्कृष्ट पुनरागमन गर्दै प्रतियोगितामा पहिलो जित निकालेको हो ।
रुवाण्डा क्रिकेट स्टेडियममा नेपालले प्रस्तुत गरेको ११३ रनको लक्ष्य पछ्याएको इटाली १८.४ ओभरमा सबै विकेट गुमाउँदै मात्र ६२ रनमा समेटियो । इटालीलाई सस्तैमा समेट्न नेपालकी अनुभवी बलर रुबिना क्षेत्रीले घातक बलिङ गर्दै सर्वाधिक ४ विकेट लिइन् । यस्तै, कविता कुँवरले २ तथा मनिषा उपाध्याय, रिया शर्मा र रचना चौधरीले १–१ विकेट लिए ।
इटालीका लागि चथुरिका महामालागेले २२ र पासिन्दी कनन्केगेले १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कको स्कोर खडा गर्न सकेनन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११२ रनको योगफल तयार पारेको थियो । नेपालको पालीमा उपकप्तान पूजा महतोले सम्हालिएको प्रदर्शन गर्दै सर्वाधिक ४८ रनको योगदान दिइन् । उनले ४५ बलमा २ चौका र १ छक्का प्रहार गरेकी थिइन् ।
नेपालका लागि सम्झना खड्काले १६, बिन्दु रावलले १५ र कप्तान इन्दु बर्माले १० रन जोडिन् । इटालीकी एमिलिया बाट्र्रामले कसिलो बलिङ गर्दै ३ विकेट लिएकी थिइन् ।
पहिलो खेलमा अमेरिकासँग ४४ रनले पराजित भएको नेपालका लागि यो जित सेमिफाइनल यात्राका लागि निकै महत्त्वपूर्ण मानिएको छ । इटालीले भने आफ्नो पहिलो खेलमा आयोजक रुवाण्डालाई पराजित गरेको थियो । नेपालले अब आफ्नो अर्को खेलमा आयोजक टोलीको सामना गर्नेछ ।