नेपाल वायु सेवा निगमले काठमाडौँ–ढाका सिधा उडान गर्ने, दिल्लीको उडान सङ्ख्या समेत थपियो

काठमाडौँ, ७ वैशाख । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले निकट भविष्यमै बङ्गलादेशको राजधानी ढाकामा नियमित सिधा उडान गर्ने प्रक्रिया अगाडि बढाएको छ । छिमेकी मुलुक भएर पनि हालसम्म राष्ट्रिय ध्वजावाहकको पहुँच पुग्न नसकेको ढाका रुटमा उडान सञ्चालनका लागि निगमले ठोस गृहकार्य थालेको हो ।

निगमका अपरेसन विभाग निर्देशक एवं वरिष्ठ क्याप्टेन सुवास रिजालका अनुसार ढाका उडानका लागि एक सम्भाव्यता अध्ययन उपसमिति गठन गरी काम सुरु गरिएको छ । “छिमेकी देश ढाकामा नेपाली ध्वजावाहकको उपस्थिति अनिवार्य देखिएकाले हामीले अध्ययन सुरु गरेका हौँ,” क्याप्टेन रिजालले भन्नुभयो, “समितिले दिने प्रतिवेदन र प्राविधिक विश्लेषणका आधारमा उडानको अन्तिम मिति र तालिका तय गरिनेछ ।”

हाल बङ्गलादेशको विमान बङ्गलादेशले काठमाडौँमा नियमित उडान गर्दै आएको छ भने नेपालकै निजी क्षेत्रको हिमालय एयरलाइन्सले पनि ढाकामा सेवा दिइरहेको छ । निगमले पनि यो रुटमा उडान थालेपछि प्रतिस्पर्धा बढ्ने र यात्रुलाई थप सहज हुने अपेक्षा गरिएको छ ।

यसैबीच, निगमले उच्च माग रहेको काठमाडौँ–दिल्ली–काठमाडौँ रुटमा आफ्नो सेवा विस्तार गरेको छ । गत चैत १७ गतेदेखि लागू हुने गरी सातामा थप तीन दिन उडान सङ्ख्या बढाइएको हो । नयाँ व्यवस्थाअनुसार अब यो रुटमा नेपाल एयरलाइन्सले साताको १० वटा उडान भर्ने निगमले जनाएको छ ।

हवाई सेवाका साथै निगमले आफ्नो कार्गो व्यवसायलाई थप व्यवस्थित र नाफामूलक बनाउन ‘कार्गो म्यानेजमेन्ट सिस्टम स्टडी टास्कफोर्स’ गठन गरेको छ । यस कार्यदलले कार्गो ढुवानी प्रणालीलाई सुदृढ एवं उपलब्धिमूलक बनाउन आवश्यक अध्ययन गरी सुझाव पेस गर्नेछ । पछिल्लो समय निगमले आफ्ना उडान गन्तव्य थप्ने र व्यावसायिक क्षमता बढाउने रणनीतिका साथ काम गरिरहेको छ ।