सोलुखुम्बुमा ११० मेगावाटको दुधकोशी पाँचौँ आयोजना निर्माण हुने, लागत १९ अर्ब ११ करोड

काठमाडौँ,  वैशाख ७ । सोलुखुम्बुको दुधकोशी नदीमा ११० मेगावाट क्षमताको ‘दुधकोशी पाँचौँ’ जलविद्युत् आयोजना निर्माण हुने भएको छ। इन्डेपेन्डेन्ट पावर कम्पनी नेपालले निर्माण गर्न लागेको यस आयोजनाको कुल लागत १९ अर्ब ११ करोड रुपैयाँ अनुमान गरिएको छ ।

आयोजनाको स्वरूप र उत्पादन क्षमता
विद्युत् विकास विभागले यसअघि नै अर्ध जलाशययुक्त प्रकृतिमा निर्माणका लागि सहमति प्रदान गरिसकेको यो आयोजना सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाका वडा नं २, ३, ४, ६ र ७ मा अवस्थित रहनेछ । आयोजनाको विद्युतगृह माप्य दुधकोशी-४ स्थित काँकुखोला र दुधकोशी नदीको सङ्गमभन्दा ७३० मिटर माथि रहने गरी प्रस्ताव गरिएको छ। आयोजनाबाट वार्षिक ६१७.८६ गिगावाट घण्टा विद्युत् उत्पादन भई राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने लक्ष्य राखिएको छ।

वातावरणीय पक्ष र संरचना
आयोजनाको ग्रस हेड २३७.९ मिटर र रेटेड नेट हेड २२२.३ मिटर रहेको छ। यसअघि नदी प्रवाही  आयोजनाका रूपमा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार भएको भए पनि आयोजनाको प्रकृति परिवर्तन गरी अर्ध जलाशययुक्त बनाइएकाले हाल पूरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार गर्ने कार्य भइरहेको छ। आयोजनाका संरचनाहरू निर्माणका लागि २५.२८ हेक्टर सामुदायिक वन क्षेत्र प्रयोग हुने र त्यस क्रममा विभिन्न प्रजातिका २ हजार ४५९ वटा रुख काट्नुपर्ने देखिएको छ ।

आर्थिक तथा रोजगारीको अवसर
प्रवर्द्धक कम्पनीका अनुसार आयोजनाको प्रतिमेगावाट लागत करिब २० करोड रुपैयाँ रहनेछ। आयोजना निर्माणका क्रममा कूल ५६५ जनाले प्रत्यक्ष रोजगारी पाउनेछन्, जसमा ६० दक्ष, १५० अर्धदक्ष र ३५५ अदक्ष कामदार रहनेछन् ।

प्रसारण र निर्माण अवधि
आयोजनाबाट उत्पादित विद्युत् दोलखाको देवीटारस्थित नयाँ खिम्ती सबस्टेसनमा जोडिनेछ । आगामी पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको यस आयोजनाका लागि वन तथा वातावरण मन्त्रालयले पूरक वातावरणीय प्रभाव मूल्याङ्कनका लागि आवश्यक सुझाव उपलब्ध गराउन सरोकारवालाहरूसँग आग्रहसमेत गरेको छ ।