साताको पहिलो दिन नेप्सेमा १३ अङ्कको गिरावट, कारोबार रकम ५ अर्ब ४३ करोडमा सीमित
काठमाडौँ, ७ वैशाख । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ । गत शुक्रबार सामान्य अङ्कले बढेर बन्द भएको बजारमा आज दोहोरो अङ्कको गिरावट देखिएको हो ।
आज नेप्से परिसूचक १३.१७ अङ्कले घटेर २८२५.२३ विन्दुमा झरेको छ । परिसूचकसँगै अन्य महत्वपूर्ण सूचकहरूमा पनि गिरावट आएको छ । सेन्सेटिभ इण्डेक्स ३.२१ अङ्क, फ्लोट इण्डेक्स १.१९ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२३ अङ्कले ओरालो लागेका छन् ।
परिसूचकसँगै सोमबार कारोबार रकममा पनि गिरावट देखिएको छ । गत शुक्रबार ७ अर्ब ४६ करोड ६ लाख ९८ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएकोमा आज ३४९ कम्पनीको ५ अर्ब ४३ करोड ४२ लाख ४० हजार रुपैयाँ बराबरको शेयर मात्र खरिद–बिक्री भएको छ । आज १ लाख १६ हजार ३१० पटकको कारोबारमार्फत १ करोड १६ लाख ५३ हजार कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
बजार समग्रमा घटे पनि चारवटा कम्पनीको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट र शिखर पावर डेभलपमेन्टको शेयर मूल्यमा १५ प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको हो ।
यस्तै, झापा इनर्जीको शेयर मूल्य करिब १२ प्रतिशत र रिज लाइन इनर्जीको ११ प्रतिशतले बढेको छ । यता, दोल्टी पावर कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै ५.३५ प्रतिशतले गुमाएका छन् ।
कारोबार रकमका आधारमा आज होटल फरेष्ट इन शीर्ष स्थानमा रह्यो । उक्त कम्पनीको ३६ करोड १ लाख ५९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भयो । यस्तै, सोलु हाइड्रोपावरको करिब ३० करोड र नेशनल हाइड्रोपावर कम्पनीको साढे २८ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ उपसमूहमध्ये दुईवटा समूहको परिसूचक बढेको छ भने बाँकी ११ वटा समूह राताम्मे देखिएका छन् । होटल तथा पर्यटन उपसमूहको परिसूचक १.०१ प्रतिशतले सुधारिएको छ । घटेका अन्य ११ उपसमूहहरूको गिरावट दर भने १ प्रतिशतभन्दा कम रहेको छ ।