मध्यपूर्व द्वन्द्वको असर : भारतको मल उत्पादनमा भारी गिरावट

नयाँदिल्ली, ८ बैशाख । मध्यपूर्वमा चर्किएको युद्ध र तनावको प्रत्यक्ष असर छिमेकी राष्ट्र भारतको कृषि क्षेत्रमा पर्न थालेको छ । प्राकृतिक ग्यासको आपूर्तिमा आएको अवरोधका कारण गत मार्च महिनामा भारतको मल (युरिया) उत्पादन झन्डै एक चौथाइ (२४.६ प्रतिशत) ले घटेको छ ।

युरिया उत्पादनका लागि प्राकृतिक ग्यास अत्यावश्यक कच्चा पदार्थ हो । गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि इरानले व्यापारिक जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’ अवरुद्ध गरिदिएको थियो । यस मार्गबाट विश्वको करिब एक तिहाइ मल तथा ग्यास आपूर्ति हुने गर्छ । जलमार्ग बन्द हुँदा भारतमा ग्यासको आपूर्ति प्रभावित भई मल उत्पादनमा भारी गिरावट आएको भारतीय वाणिज्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

मन्त्रालयका अनुसार मार्च महिनामा मल उत्पादन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २४.६ प्रतिशतले घटेको छ । जबकि, यसअघि डिसेम्बरमा ४.१ प्रतिशत, जनवरीमा ३.७ प्रतिशत र फेब्रुअरीमा ३.४ प्रतिशतले उत्पादन वृद्धि भएको थियो ।

भारतको कुल रोजगारीमा ४५ प्रतिशतभन्दा बढी हिस्सा कृषि क्षेत्रले ओगटेको छ । भारतको विशाल कृषि प्रणालीका लागि युरिया मुख्य आधार हो । ग्यासको अभावमा मल उत्पादन घट्दा साना र सीमान्त किसानहरू थप मारमा पर्ने जोखिम बढेको छ । भारतले युरियासँगै रक फस्फेट, फस्फोरिक एसिड र पोटासजस्ता कच्चा पदार्थका लागि पूर्ण रूपमा आयातमा निर्भर रहनुपर्ने बाध्यता छ ।

उत्पादनमा गिरावट आए पनि भारतीय सरकारले भने तत्काल मलको अभाव नहुने दाबी गरेको छ । पेट्रोलियम मन्त्रालयले देशमा हाल ‘पर्याप्त मल भण्डार’ रहेको र आपूर्तिको स्रोतलाई अन्य देशबाट विविधीकरण गर्ने प्रयास भइरहेको जनाएको छ ।

भारतमा विशेषगरी मनसुन सुरु हुने समय (जुन–जुलाई) र हिउँदे बाली लगाउने समय (अक्टोबर–नोभेम्बर) मा मलको माग अत्यधिक हुने गर्छ ।