तम्घासमा फोहोरबाट ‘मोहर’ कमाउन सुरु: वातावरण संरक्षणसँगै आम्दानीको स्रोत
गुल्मी, १० वैशाख । गुल्मीको सदरमुकाम तम्घासमा फोहोरलाई केवल विसर्जन गर्ने वस्तुका रूपमा मात्र नभई आम्दानीको स्रोतका रूपमा विकास गर्न थालिएको छ। नगर विकास तथा वातावरण सरसफाइ समितिले बजारबाट सङ्कलित नकुहिने फोहोरलाई पाल्पास्थित ‘नेप्लिज वेष्ट बैंक’ सँग सम्झौता गरी बिक्री गर्न सुरु गरेको हो।
यस नवीन कार्यबाट वातावरण प्रदूषण न्यूनीकरण हुनुका साथै समितिलाई आर्थिक लाभ समेत हुन थालेको छ। समितिका अध्यक्ष रामप्रसाद पन्थीका अनुसार, पछिल्लो एक महिनामा चार ट्रक फोहोर बिक्री गर्दा २० हजार रुपैयाँ आम्दानी भएको छ।
समिति र बैंकबीच भएको सम्झौताअनुसार विभिन्न प्रकारका फोहोरलाई प्रतिकेजीका आधारमा मूल्य तोकिएको छ: रेडबुलका बोतल किलाेकाे : ८० रुपैयाँ, फलाम किलाेकाे: १५ रुपैयाँ, प्लास्टिकका बोतल किलाेकाे: १० रुपैयाँ
एचडिपी प्लास्टिक किलाेकाे: ८ रुपैयाँ, टिन किलाेकाे: ५ रुपैयाँ, सिसा: १ रुपैयाँ ताेकेकाे छ।
यसअघि फोहोर बिक्री नहुँदा ओख्रेनीस्थित विसर्जन स्थलमै जलाउने गरिएको थियो। जसका कारण उदिनढुङ्गा, जिप पार्क र बेदुखर्क लगायतका बस्तीहरू सधैँ दुर्गन्धित हुने गर्दथे। अहिले फोहोरको वर्गीकरण र बिक्री सुरु भएपछि सो क्षेत्रको दुर्गन्ध हटेको स्थानीय मीना खत्रीले बताउनुभयो।
यसको सबैभन्दा ठूलो सकारात्मक प्रभाव खानेपानीमा पर्ने देखिएको छ। फोहोर फाल्ने ठाउँको तल्लो भागमा ‘तम्घास बृहत् खानेपानी’ को मुख्य ट्याङ्की रहेकाले फोहोर जलाउँदा वा खुला छाड्दा मुहान प्रदूषित हुने जोखिम थियो। अब फोहोर व्यवस्थापन वैज्ञानिक रूपमा हुन थालेपछि उपभोक्ताहरूले शुद्ध खानेपानी पाउनेमा विश्वस्त देखिएका छन्।
रेसुङ्गा नगरपालिकाले फोहोर व्यवस्थापनका लागि उल्लेख्य सहयोग गर्दै आएको छ। नगर प्रमुख खिलध्वज पन्थीले बजारलाई स्वच्छ राख्नु नगरको प्राथमिक दायित्व भएको बताउनुभयो। नगरपालिकाले समितिलाई वार्षिक १० लाख रुपैयाँ अनुदान उपलब्ध गराउनुका साथै १३ लाख ८० हजार रुपैयाँ लागतमा फोहोर व्यवस्थापन केन्द्रको जमिन सम्याउने काम समेत सम्पन्न गरेको छ।
समितिले अब कुहिने फोहोरबाट कम्पोष्ट मल बनाउने बृहत् योजना अघि सारेको छ। करिब १४ लाख रुपैयाँको लगानीमा कुहिने फोहोरलाई प्रशोधन गरी प्राङ्गारिक मल उत्पादन गर्ने तयारी भइरहेको अध्यक्ष पन्थीले जानकारी दिनुभयो।
वि.सं. २०६१ देखि तम्घासमा फोहोर व्यवस्थापन गर्दै आएको यस समितिले हाल १,७६५ घरधुरीबाट दैनिक दुई टन फोहोर सङ्कलन गर्दै आएको छ।