मुन्दुम पदमार्ग प्रवर्धनका लागि ११ देशका स्रष्टाद्वारा पदयात्रा : अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न
काठमाडौँ, वैशाख १० । पूर्वी नेपालको प्रसिद्ध मुन्दुम पदमार्गलाई विश्वव्यापी रूपमा चिनाउने उद्देश्यले नेपालका सातै प्रदेश र विश्वका ११ विभिन्न मुलुकका स्रष्टाहरूले सामूहिक पदयात्रा गरेका छन्। मुन्दुम पदमार्ग प्रवर्द्धनसम्बन्धी विश्वव्यापी परियोजनाअन्तर्गत प्रथम चरणको स्रष्टा सम्मेलन तथा भ्रमण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो ।
परियोजना निर्देशक एवं संस्कृतिविद् डा. भक्त राईका अनुसार मुन्दुम पदमार्गको इतिहासमा पहिलोपटक यति ठूलो संख्यामा स्वदेशी तथा विदेशी स्रष्टाहरूलाई समेटेर अन्तर्राष्ट्रिय सम्मेलन र पदयात्रा गराइएको हो। यस कार्यक्रमले पदमार्गको सांस्कृतिक र प्राकृतिक महत्त्वलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्न ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
पदयात्राका क्रममा आयोजित सम्मेलनमा मुन्दुमको ऐतिहासिक पृष्ठभूमि, यस क्षेत्रको मौलिक संस्कृति, बसोबास, भूगोल, वनस्पति र वन्यजन्तुका बारेमा विस्तृत कार्यपत्रहरू प्रस्तुत गरिएका थिए। सहभागी स्रष्टाहरूलाई यस क्षेत्रको विविधताका बारेमा जानकारी गराइएको थियो ।
यस परियोजनाको मुख्य लक्ष्य पदयात्रा र अध्ययनपछि सहभागी स्रष्टाहरूलाई मुन्दुम पदमार्गका बारेमा गीत सिर्जना गर्न लगाउनु हो। सिर्जित गीतहरूलाई विभिन्न भाषाका गायकगायिकाहरूद्वारा रेकर्ड गराई विश्वव्यापी रूपमा सार्वजनिक गर्ने योजना रहेको आयोजकले जनाएको छ ।
पदयात्रामा नेपालका सातै प्रदेशका प्रतिष्ठित स्रष्टाहरूका साथै भारत (दार्जीलिङ र सिक्किम), भुटान, चीन, अष्ट्रेलिया, टर्की, रसिया, सिङ्गापुर, फिलिपिन्स, जापान र कोरियाका स्रष्टाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रमका बारेमा धारणा राख्दै टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले यस्ता अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमले पूर्वी नेपालको मात्र नभई समग्र राष्ट्रकै पर्यटन विकास र आर्थिक समृद्धिमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो। सहभागी विदेशी स्रष्टाहरूले मुन्दुम क्षेत्रको प्राकृतिक सुन्दरता र स्थानीय सत्कारको प्रशंसा गर्दै यस भ्रमणले आफूहरूलाई नयाँ सिर्जनाका लागि ऊर्जा प्रदान गरेको बताएका छन् ।