बृहत्तर लुम्बिनी क्षेत्रको विकासका लागि सम्झौता: बुद्ध परिपथ निर्माणमा विश्व बैंकको १२ अर्ब ऋण सहयोग

भैरहवा, १७ जेठ । बृहत्तर लुम्बिनी क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले बुद्ध परिपथ निर्माणका लागि बहुपक्षीय साझेदारी सम्झौता गरिएको छ। विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालन हुन लागेको यस परियोजना अन्तर्गत पर्यटकीय पूर्वाधार विस्तार र स्थानीय रोजगारी प्रवर्द्धनका कार्यक्रम अघि बढाइने भएको छ।

सहरी विकास तथा भवन निर्माण विभाग र बुद्ध परिपथमा पर्ने चार स्थानीय तहहरू (कपिलवस्तु, लुम्बिनी सांस्कृतिक, रामग्राम तथा देवदह नगरपालिका) बीच परियोजना कार्यान्वयन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौतामा विभागका महानिर्देशक रवीन्द्र बोहरा तथा सम्बन्धित नगरपालिकाका प्रमुख एवं प्रतिनिधिहरूले हस्ताक्षर गर्नुभएको छ।

यस परियोजनाका लागि विश्व बैंकले कुल ८५ मिलियन अमेरिकी डलर (करिब रु. १२ अर्ब ६६ करोड) बराबरको सहुलियतपूर्ण ऋण सहयोग उपलब्ध गराउने भएको छ। पाँच वर्ष चल्ने यस परियोजना अन्तर्गत प्रत्येक नगरपालिकामा करिब रु. ४६ करोड बराबरको बजेट परिचालन गरिनेछ। लुम्बिनी सांस्कृतिक नगरपालिकाका इन्जिनियर आशिषकुमार यादवका अनुसार आगामी आर्थिक वर्षको सुरुआतमै पहिलो किस्ताका रूपमा प्रत्येक नगरपालिकालाई करिब रु. ९ करोड उपलब्ध गराइनेछ।

परियोजनाको मुख्य लक्ष्य बुद्धसँग सम्बन्धित ऐतिहासिक तथा धार्मिक स्थलहरूको संरक्षण गर्दै पर्यटकको बसाइ अवधि लम्ब्याउनु रहेको छ। परियोजना अन्तर्गत सम्पदामैत्री पदमार्ग, विश्रामस्थल, सार्वजनिक शौचालय, खानेपानी, ढल व्यवस्थापन, डिजिटल सूचना बोर्ड तथा सङ्केत चिह्नहरू निर्माण गरिनेछन्। यसका साथै स्थानीय युवाहरूलाई गाइड (पथप्रदर्शक) तालिम दिएर स्वरोजगारका अवसर सिर्जना गर्ने कार्यक्रम समेत यसमा समेटिएको छ।

परियोजनाको गन्तव्य विकास र पर्यटन व्यवस्थापनको पाटोलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोष र नेपाल पर्यटन बोर्डले समन्वय गर्नेछन् भने भौतिक पूर्वाधार निर्माणको जिम्मेवारी सहरी विकास तथा भवन निर्माण विभागले सम्हाल्नेछ।

कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेल र लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक प्रमुख कल्पना हरिजनले ऐतिहासिक स्थलहरूको प्रवर्द्धनबाट अन्तर्राष्ट्रिय पर्यटक आकर्षित हुने र स्थानीय अर्थतन्त्र चलायमान बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। पर्यटन व्यवसायीहरूले पनि यस परियोजनाको प्रभावकारी कार्यान्वयन भएमा लुम्बिनी क्षेत्रको पर्यटन विकासमा नयाँ आयाम थपिने अपेक्षा गरेका छन्।