पर्यटकको आकर्षण बन्दै सिन्धुपाल्चोकको भैरवकुण्ड
चौतारा, १० वैशाख । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकास्थित भैरवकुण्ड क्षेत्रमा पछिल्लो समय पर्यटकको चाप बढ्न थालेको छ। प्राकृतिक सौन्दर्य र धार्मिक महत्त्व बोकेको यस कुण्डमा हिन्दू र बौद्ध धर्मावलम्बीहरूले श्रद्धापूर्वक पूजाआजा गर्ने गर्छन्। शेर्पा समुदायले यसलाई ‘आमा छ्योमेन’का रूपमा पुज्ने गरेका छन्।
समुद्री सतहबाट ६ हजार ५ सय ६७ मिटर उचाइमा रहेको फुर्वी घ्याचु भञ्ज्याङको फेदीमा अवस्थित यो कुण्ड ४ हजार १ सय २४ मिटरको उचाइमा पर्छ। भोटेकोसी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पाका अनुसार, करिब ८४ हजार १ सय ९३ वर्गमिटरमा फैलिएको यस तालको गहिराइ भने हालसम्म मापन गरिएको छैन। कुण्डको पानीबाट बनेको करिब १९८ मिटर अग्लो छहराले यहाँको आकर्षण थप बढाएको छ।
यहाँबाट जुगल हिमशृङ्खलाको प्रत्यक्ष अवलोकन गर्न सकिन्छ। भौगोलिक रूपमा कठिन यात्रा भए पनि यहाँ पुगेपछि प्राकृतिक रसास्वादनले पर्यटकहरू थकान भुल्छन्। अरनिको राजमार्गअन्तर्गत डाक्लाङ, काङलाङ, लिस्तीमाई मन्दिर, छगाम, बगाम र चाेकरमाेकर हुँदै पुग्न सकिन्छ । तातोपानीको लार्चाबाट ठाडो उकालो र भिरको बाटो हुँदै डेढदेखि दुई दिनको पैदल यात्रामा पनि त्यहाँ पुग्न सकिन्छ। तर पहिले याे बाटाे चलेपनि अहिले अधिकांश डाक्लाङ, काङलाङ, लिस्तीमाई मन्दिर हुँदै पुग्छन् । विसं १९११ मा भोटसँगको युद्धको बेला निर्मित ऐतिहासिक दुगुनागढी पनि यसै क्षेत्रमा रहेको छ । तत्कालीन जङ्गबहादुर राणाको पालामा भोटसँग लडाइँ गर्दा घुयँत्रो मार हान्न बनाइएको दुगुनागढी किल्लाबाट पनि भैरवकुण्डको यात्रा गर्न सकिन्छ ।
यहाँ भगवान् शिव र पार्वतीको बासस्थान रहेको किंवदन्ती छ। महादेवको उग्ररूप अर्थात् संहारकर्ता ‘भैरव’को नामबाट यस कुण्डको नामकरण भएको मानिन्छ। शिवको क्रीडास्थल मानिने यस कुण्डमा विशेषगरी जनैपूर्णिमाका दिन ठूलो मेला लाग्छ र ‘जे माग्यो त्यही पूरा हुने’ जनविश्वासका कारण हजारौँ भक्तजन यहाँ पुग्छन्। नजिकै रहेको अर्को प्रख्यात धार्मिक स्थल ‘देउढुङ्गा’को दर्शन गर्न पनि पर्यटकहरू पुग्ने गरेका छन्। किंवदन्तीको आधारमा आन्तरिक पर्यटक भैरवकुण्ड र देउढुङ्गाको धार्मिक यात्रा गर्छन् ।
आन्तरिक मात्रै होइन, चीन, भारत र पश्चिमा मुलुकका पर्यटकको रोजाइमा यी क्षेत्र रहेका छन् । भूकम्पअघि वार्षिक एक हजार विदेशी पर्यटकले दुगुनागढी किल्ला र भैरवकुण्डको यात्रा गर्दथे । यहाँबाट जिल्लासहित तिब्बतको विभिन्न भूभाग दृश्यावलोकन गर्न पाइने भएकाले पर्यटक लोभिएका स्थानीय बुद्ध श्रेष्ठको भनाइ छ । भदौदेखि कात्तिक र चैतदेखि जेठसम्म यहाँ पर्यटकको बढी चहलपहल हुन्छ। चिसो हावापानी भएको यो क्षेत्र यार्सागुम्बालगायत बहुमूल्य जडीबुटीको भण्डार हो भने हिउँ चितुवा, भालु, कस्तुरी, थारलजस्ता दुर्लभ वन्यजन्तुको बासस्थान पनि हो।
पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको यो कुण्डलाई थप व्यवस्थितका साथै उचित प्रचारप्रसार गरी सम्बन्धित सरोकारवाला निकायको पहलमा झनै पर्यटक पहिलो रोजाइमा राख्न सके सिन्धुपाल्चोकवासीलाई आर्थिक लाभ हुने मात्रै नभई सिङ्गो जिल्ला विश्वमा चिनिन सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ ।