मूल्यवृद्धिको बहानामा दरवाङ–मुना–ढोरपाटन सडक निर्माणमा ढिलासुस्ती

म्याग्दी, १० वैशाख । म्याग्दीको रणनीतिक महत्त्वको दरवाङ–मुना–ढोरपाटन सडक आयोजनाको निर्माण कार्य सुस्ताएको छ। निर्माण कम्पनीले इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिको कारण देखाउँदै कामको गति घटाएपछि स्थानीय बासिन्दा चिन्तित बनेका छन्।

मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि धौलागिरिको केन्द्र मुना जोड्ने यस सडकलाई कालोपत्र र ढलान गरेर स्तरोन्नति गर्न सङ्घीय र प्रदेश सरकारको साझेदारीमा काम सुरु गरिएको थियो। मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्गका रूपमा हेरिएको यस सडक निर्माणमा पछिल्लो एक महिनायता मजदुर र उपकरणको सङ्ख्या कटौती गरिएको धौलागिरि–३, मुनाका अगुवा बुद्धिमान शेरपुञ्जाले बताए।

पूर्वाधार विकास कार्यालय म्याग्दीका अनुसार, ६७ करोड रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनाका लागि निर्माण कम्पनीसँग ५२ करोड ८० लाख ५३ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। तर, कार्यक्षेत्रमा परिचालित भएदेखि हालसम्म करिब १० प्रतिशत मात्र भौतिक प्रगति भएको छ। यो आयोजनाअन्तर्गत दरवाङ–धारापानी (७ किमी) र मच्छिम–मुना (४ किमी) मा अस्फाल्ट प्रविधिको कालोपत्र र ढलान हुनेछ।

कार्यालयका प्रमुख (सिनियर डिभिजनल इन्जिनियर) डा. महेन्द्र बानियाँले इन्धन र सामग्रीको मूल्यवृद्धिको बहानामा ठेकेदारले काम सुस्त बनाएको जानकारी दिए। २७ महिनाको ठेक्का अवधि रहेको यस आयोजनाको प्रगति सन्तोषजनक नहुँदा बजेट खर्च नहुने जोखिम बढेको उनको भनाइ छ।

सङ्घीय र प्रदेश सरकारको ५०/५० प्रतिशत लागत साझेदारी रहेको यस आयोजनाका लागि चालु आर्थिक वर्षमा २३ करोड २२ लाख रुपैयाँ विनियोजन गरिएको छ। हालसम्म जम्मा ५ देखि ६ करोड रुपैयाँ बराबरको मात्र काम भएको छ।

म्याग्दी प्रदेशसभा १ (ख) का सांसद रेशमबहादुर जुग्जालीले निर्माणमा देखिएको ढिलाइप्रति चिन्ता व्यक्त गर्दै कामको गति बढाउन स्थानीय स्तरमा सहजीकरण भइरहेको बताए। यता, निर्माण कम्पनीका सञ्चालक भीम सापकोटाले भने मूल्यवृद्धिका बाबजुद पनि आयोजना सम्पन्न गर्न आफूहरू लागिपरेको दाबी गरेका छन्।

यो सडक निर्माण सम्पन्न भएमा म्याग्दी, बागलुङको ढोरपाटन र पूर्वी रुकुमका बासिन्दालाई पोखरा र काठमाडौँ आवतजावत गर्न ५० किलोमिटर दूरी छोटिनेछ।