सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान हाललाई स्थगित
काठमाडौँ, १० वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वैशाख १७ गतेका लागि आह्वान गरिएको सङ्घीय संसद्को दुवै सदनको अधिवेशन हाललाई स्थगित गर्नुभएको छ ।
राष्ट्रपति कार्यालयका अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को आजको (वैशाख १० गते) सिफारिस बमोजिम विशेष कारणवश उक्त अधिवेशन आह्वान स्थगित गरिएको हो । यसअघि मन्त्रिपरिषद्को वैशाख ८ गतेको निर्णय र सिफारिसका आधारमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम आगामी वैशाख १७ गतेका लागि बैठक आह्वान गर्नुभएको थियो ।
राष्ट्रपतिका कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा मन्त्रिपरिषद्को पछिल्लो सिफारिसअनुसार दुवै सदनको अधिवेशन आह्वानको निर्णय हाललाई स्थगित गरिएको उल्लेख छ ।