देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना, लुम्बिनीमा भारी वर्षाको चेतावनी

काठमाडौँ, २० वैशाख । नेपालमा हाल पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण मौसममा फेरबदल आएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर बदली भई धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।

आज दिउँसो मुलुकका पहाडी र हिमाली भू-भागमा साधारणतया बदली रहनेछ भने तराईका क्षेत्रमा आंशिक बदली हुनेछ । कोशी, बागमती, गण्डकी लगायतका पहाडी र हिमाली क्षेत्रका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेस प्रदेश र कोशी प्रदेशको तराईका थोरै स्थान तथा बाँकी तराईका एक-दुई स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

आज राति देशभर साधारणतया बदली रहने पूर्वानुमान गरिएको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना छ ।

विशेषगरी लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

वर्षासँगै देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

मेघगर्जन, चट्याङ, हावाहुरी र असिनाका कारण हुन सक्ने क्षतिबाट बच्न र दैनिक जनजीवनमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन् ।