पहिरोले कान्ति लोकपथ ठप्प, सूर्यविनायक–साँगा सडकमा पनि यात्रा कष्टकर
काठमाडौँ, २० वैशाख । ललितपुरको बागमती गाउँपालिका–४ पाङदुरमा पहिरो खसेका कारण कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आज बिहान करिब ५:०० बजे खसेको पहिरोका कारण काठमाडौँ र हेटौँडा जोड्ने यो छोटो दुरीको मार्गमा सवारी आवागमन ठप्प भएको हो ।
सडकमा ठूलो परिमाणमा लेदोसहितको पहिरो खसेकाले दुवैतर्फबाट गाडी चल्न सकेका छैनन् । पहिरो पन्छाएर सडक सुचारु गर्नका लागि सडक विभाग र सुरक्षाकर्मीबीच समन्वय भइरहेको छ ।
यसैबीच, भक्तपुरको सूर्यविनायक–साँगा सडकखण्डमा पनि सवारी चलाउन निकै कठिन भएको छ । सडक विस्तारको काम भइरहेको यस क्षेत्रमा वर्षाका कारण बाटो हिलो र चिप्लो भएपछि सवारी साधनहरू गुड्न समस्या भएको हो ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले सूर्यविनायक–साँगा सडकखण्डमा यात्रा गर्दा विशेष सावधानी अपनाउन र ट्राफिक प्रहरीको निर्देशन पालना गर्न चालकहरूलाई आग्रह गरेको छ । सडक चिप्लो भएकाले तीव्र गतिमा सवारी नचलाउन र संयमित हुन ट्राफिक प्रहरीले सुझाएको छ ।
कान्ति लोकपथ अवरुद्ध भएपछि हेटौँडा आउ–जाउ गर्ने यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।
