मुक्तिनाथको ओझेलिएको ‘विष्णु चुल्हो’: जहाँ ढुङ्गामा भगवान्को भान्सा भेटिन्छ
काठमाडौँ, वैशाख १३ । मुस्ताङको प्रसिद्ध मुक्तिनाथ मन्दिरको आँगनबाट हिमाललाई दाहिने पारेर करिब आधा घण्टा उत्तर – पूर्वतर्फ उकालो लाग्ने हो भने एउटा यस्तो रहस्यमय ठाउँ पुगिन्छ, जहाँ आस्था र प्रकृति एउटै ढुङ्गामा एकाकार भएका छन् । समुद्री सतहबाट चार हजार एक सय मिटरको उचाइमा अवस्थित छ – ‘विष्णु चुल्हो’ ।
मुक्तिनाथ दर्शन गर्न बर्सेनि लाखौँ भक्तजनहरू १०८ धारामा स्नान गर्छन्, ज्वालामाईको दर्शन गर्छन् । तर, धेरैलाई थाहा नभएको एउटा रोचक तथ्य के छ भने, तिनै भगवान् विष्णुले पौराणिक कालमा भोजन पकाउने गरेको भनिएको ‘दिव्य भान्सा’ अझै पनि त्यहाँ सग्लो अवस्थामा छ ।
ढुङ्गामा कुदिएको दैवी भान्सा
थोरङ फेदीको काखमा अवस्थित यो स्थानमा पुग्दा जोकोही अचम्मित हुन्छन् । एउटा विशाल कालो शालिग्राम जस्तै देखिने ढुङ्गामा प्राकृतिक रूपमै चुल्होको आकृति छ । करिब तीन फिट लम्बाइ र एक फिट चौडाइको यो चुल्हो हेर्दा कुनै कुशल मूर्तिकारले कुँदे जस्तो देखिन्छ ।
मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार, त्यहाँ केवल चुल्हो मात्र छैन, ढुङ्गामै खानेकुरा पकाउने ठाउँ, अचार पिस्ने सिलौटो, डाडु-पन्यु र दाबिलो जस्ता भान्छाका सामग्रीका आकृतिहरू पनि दुरुस्तै देख्न सकिन्छ । “यो भगवान् विष्णुको शक्तिबाट प्राकृतिक रूपमा उत्पत्ति भएको मानिन्छ,” भुसाल ले जानकारी दिनुभयो ।
एउटै ढुङ्गा, अनेकौँ आस्था
विष्णु चुल्होको महिमा हिन्दू शास्त्रमा मात्र सीमित छैन । यो ठाउँ मुस्ताङको धार्मिक सहिष्णुताको अनुपम उदाहरण पनि हो । हिन्दूहरू यसलाई विष्णुले तपस्या गर्दा खाना पकाएको ठाउँ मान्छन् । पौराणिक कथा अनुसार, ब्रह्माजीले यही चुल्होमा खीर पकाएर विष्णु र अन्य देवीदेवतालाई खुवाएका थिए । भनिन्छ, त्यतिबेला खीरका केही थोपा तल ज्वालामाई मन्दिर भएको ठाउँमा परेका थिए, जसका कारण आज पनि ज्वालामाईको माटो सुँघ्दा खीरको जस्तै बासना आउने जनविश्वास छ ।
यता बौद्ध धर्मावलम्बीहरू यसलाई आफ्नै ढङ्गले पूजा गर्छन् । स्थानीय बौद्धमार्गीहरू यसलाई ‘आमा झ्यातङ धोङ्ब’ भन्छन् । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामगेल गुरुङका अनुसार, महान् गुरु पद्मसंभव (रिन्पोर्छे) ले ध्यान साधना गर्दा यही ढुङ्गालाई चुल्होका रूपमा प्रयोग गरेको विश्वास गरिन्छ ।
त्यति मात्र होइन, तल्लो मुस्ताङका थकाली समुदायमा यसको अर्कै नाम छ – ‘कोदो झ्योदो’ । घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन आफ्नो बाल्यकाल सम्झँदै भन्नुहुन्छ, “हामी सानो छँदा साथीभाइसँग मिलेर ‘कोदो झ्योदो’ हेर्न जाने गर्थ्यौं । यो हाम्रो पुस्ताका लागि सधैँ कौतूहलको विषय रह्यो ।”
गुमनाम छ यो धार्मिक सम्पदा
मुक्तिनाथ मन्दिरको शिरमा एउटा सानो मन्दिरभित्र सुरक्षित राखिएको यो चुल्होमा अचेल एकजना साधुले नियमित पूजा-अर्चना गर्छन् । तर, विडम्बना के छ भने मुक्तिनाथको मुख्य मन्दिरसम्म पुग्ने हजारौँ पर्यटकलाई आधा घण्टाको दूरीमा रहेको यो रोचक स्थलका बारेमा पत्तै हुँदैन ।
पर्याप्त प्रचार-प्रसार र पदमार्गको उचित व्यवस्थापन हुन नसक्दा यो ‘दिव्य भान्सा’ गुमनाम जस्तै छ । “यदि यसलाई व्यवस्थित गरेर प्रचार गर्न सके मुक्तिनाथ आउने पर्यटकको बसाइ एक दिन लम्बाउन सकिन्थ्यो र धार्मिक पर्यटनमा नयाँ आयाम थपिने थियो,” स्थानीय बासिन्दाहरूको गुनासो छ ।
कालो ढुङ्गामा कुदिएको यो ‘विष्णु चुल्हो’ केवल एउटा ढुङ्गा मात्र होइन, यो त मुस्ताङको हिमालमुनि लुकेको एउटा यस्तो रहस्य हो, जसले हिन्दू र बौद्ध धर्मको साझा विरासतलाई एउटै शालिग्राममा समेटेको छ ।