मनमोहन स्मृति राष्ट्रव्यापी कविता प्रतियोगितामा जीवन चाम्लिङ प्रथम
काठमाडौँ, वैशाख १३ । पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको २७औँ स्मृति दिवसका अवसरमा आयोजित राष्ट्रव्यापी कविता प्रतियोगितामा रसुवाका जीवन चाम्लिङ प्रथम हुनुभएको छ। मनमोहन स्मृति प्रतिष्ठानद्वारा आज काठमाडौँमा आयोजित प्रतियोगितामा चाम्लिङको ‘मनमोहनको सपना’ शीर्षकको कविताले उत्कृष्ट स्थान हासिल गरेको हो ।
प्रथम भएसँगै उहाँलाई ५० हजार रुपियाँ नगद र प्रमाणपत्र प्रदान गरियो । प्रतियोगितामा लमजुङकी गोमा श्रेष्ठले ‘समयको धारमा उभिएको शिला’ कविताका साथ दोस्रो र तनहुँका नरोत्तम श्रेष्ठले ‘हिमज्वालाको सुगन्ध’ कवितामार्फत तेस्रो स्थान प्राप्त गर्नुभयो। उहाँहरूले क्रमशः ३० हजार रुपियाँ र २० हजार रुपियाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्नुभयो। डा. जगतप्रसाद उपाध्याय संयोजक रहनुभएको निर्णायक मण्डलमा रामबाबु सुवेदी, विन्दु शर्मा र स्नेहा सायमी सदस्य हुनुहुन्थ्यो ।
प्रतियोगितामा देशका विभिन्न जिल्लाका २७ स्रष्टाले आ-आफ्नो कविता वाचन गरेका थिए। कार्यक्रममा वरिष्ठ कवि तिलविक्रम नेम्वाङ (बैरागी काइँला) ले स्वर्गीय अधिकारीलाई शक्तिको घमण्ड नगर्ने एक सरल र सादगी व्यक्तित्वका रूपमा स्मरण गर्नुभयो। उहाँले अधिकारीले राष्ट्रहितका लागि पुर्याएको योगदान अतुलनीय रहेको उल्लेख गर्नुभयो ।
प्रतिष्ठानका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले नयाँ पुस्तालाई मनमोहन अधिकारीको व्यक्तित्व र योगदानबारे जानकारी गराउन विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेको बताउनुभयो। सोही क्रममा आगामी वैशाख २६ र २७ गते ज्येष्ठ नागरिक अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएको जानकारी समेत उहाँले दिनुभयो ।
बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले ‘आफ्नो गाउँ आफैँ बनाऊँ’ र ‘वृद्ध भत्ता’ जस्ता लोकप्रिय कार्यक्रमका कारण अधिकारीको प्रधानमन्त्रीत्वकाल सधैँ स्मरणीय रहने बताउनुभयो। नगरपालिकाकी उपप्रमुख अनिता लामाले अधिकारीप्रति सच्चा श्रद्धाञ्जली अर्पण गर्न राष्ट्रका लागि इमानदार योगदान आवश्यक रहेको धारणा राख्नुभयो ।
विराटनगरमा वि.सं. १९७७ मा जन्मनुभएका प्रजातान्त्रिक एवं वामपन्थी आन्दोलनका अग्रणी व्यक्तित्व मनमोहन अधिकारीको २०५६ सालमा निधन भएको थियो ।