सुनको मूल्य फेरि ३ लाख नाघ्यो, चाँदी पनि बढ्यो

काठमाडौँ, १४ वैशाख । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेसँगै फेरि ३ लाख रुपैयाँ नाघेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ५ सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिन (आइतबार) सुन प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

गत साताको सोमबार सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ७ सय रुपैयाँ रहेको थियो। नेपाली बजारमा गत माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च बिन्दु (प्रतितोला ३ लाख ३९ हजार रुपैयाँ) मा पुगेर नयाँ कीर्तिमान कायम गरेको थियो।

सुनसँगै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। महासङ्घका अनुसार, अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ५० रुपैयाँले बढेर ५ हजार ४५ रुपैयाँ पुगेको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भएको थियो भने गत सोमबार यसको मूल्य ५ हजार १ सय ९० रुपैयाँ थियो।