नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम भने पौने ५ अर्बमा खुम्चियो

काठमाडौँ, १४ बैशाख । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक सामान्य अङ्कले बढेको छ। अघिल्लो कारोबार दिन (शुक्रबार) अन्तिम समयमा सकारात्मक भएर बन्द भएको बजारले आज पनि सोही लयलाई निरन्तरता दिएको हो।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज परिसूचक ७.७३ अङ्कले बढेर २७९६.४३ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स १.६४, फ्लोट इन्डेक्स ०.७५ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६१ अङ्कले बढेका छन्।

नेप्से परिसूचक बढे पनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा गिरावट आएको छ। गत शुक्रबार ५ अर्ब २७ करोड रुपैयाँको सेयर खरिदबिक्री भएकोमा आज कारोबार रकम घटेको छ। सोमबार ३५१ कम्पनीका १ करोड ९ लाख २८ हजार कित्ता सेयर ८१ हजार ६ पटक खरिदबिक्री हुँदा कुल ४ अर्ब ७४ करोड ८८ लाख ९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

आज चारवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट (१० प्रतिशतको वृद्धि) लागेको छ। कर्पोरेट डेभलपमेन्ट बैंक, पाल्पा सिमेन्ट इन्डस्ट्रिज, शिखर पावर डेभलपमेन्ट र सिटी होटलको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो। त्यस्तै, झापा इनर्जीको सेयर मूल्य साढे ९ प्रतिशत र ग्रीन डेभलपमेन्ट बैंकको करिब ७ प्रतिशतले बढेको छ।

अर्कोतर्फ, निफ्रा ग्रीन इनर्जी डिबेन्चर (६ प्रतिशत २०८८/८९) का लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। यसको मूल्य १४.०१ प्रतिशतले ओरालो लागेको छ।

कारोबार रकमका आधारमा आज रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको ३० करोड ७४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो। त्यस्तै, आँखुखोला जलविद्युत् कम्पनीको २६ करोड रुपैयाँभन्दा बढी र सोलु हाइड्रोपावरको करिब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबारमा आएका १३ उपसमूहमध्ये सोमबार ८ वटाको परिसूचक बढेको छ भने ५ वटाको घटेको छ। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.५२ प्रतिशत र विकास बैंक उपसमूह १ प्रतिशतभन्दा बढीले बढेको छ।