कोशी र गण्डकीमा भारी वर्षाको चेतावनी, यस्तो छ अन्य प्रदेशको अवस्था
काठमाडौँ, १५ वैशाख । नेपालमा हाल पश्चिमी वायु, स्थानीय वायुका साथै पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ । जसका कारण मुलुकका विभिन्न भागमा मौसम बदली भई वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ ।
आज राति कोशी प्रदेशका धेरै स्थानहरूमा तथा मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भेगका एक-दुई स्थानमा पनि वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
विशेषगरी कोशी प्रदेशका पहाडी तथा हिमाली भू-भाग र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा आज मेघगर्जन र चट्याङसहित भारी वर्षा र हिमपातको समेत सम्भावना रहेको छ ।
वर्षा, चट्याङ र हिमपातका कारण हुन सक्ने जोखिमबाट बच्न र ती क्षेत्रको जनजीवन, कृषि, स्वास्थ्य तथा यातायातमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ ।