शेयर बजारमा दोहोरो अङ्कको गिरावट: नेप्से २६ विन्दुले घट्दा साढे ६ अर्बको कारोबार

काठमाडौं, १५ वैशाख । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको गिरावट आएको छ। परिसूचक २६.१६ अङ्कले घटेर २,७७०.२६ विन्दुमा ओर्लिएको हाे।

बजार घटे पनि कारोबार रकम भने साढे ६ अर्बमाथि रहेको छ। नेप्सेका अनुसार आज विभिन्न ३४९ कम्पनीका १ करोड ४० लाख १३ हजार १६७ कित्ता शेयर १ लाख ५१ हजार २८६ पटक खरिदबिक्री भएका छन्। जसबाट आज बजारमा कुल ६ अर्ब ५२ करोड ८० लाख ७७ हजार ९७६ रुपैयाँ बराबरको कारोबार भएको छ।

आजको कारोबारमा ‘अन्य’ समूहबाहेक सबै उपसूचकहरू ऋणात्मक (रातो) बनेका छन्। ‘अन्य’ समूहको उपसूचक ०.७३ प्रतिशतले बढेको छ।

यता, घट्ने उपसूचकहरूमा सबैभन्दा धेरै होटल तथा पर्यटन समूह २.५६ प्रतिशत र उत्पादन तथा प्रशोधन समूह २.४६ प्रतिशतले ओर्लिएका छन्। यसैगरी, जलविद्युत् १.७४, विकास बैंक १.२२, र बैंकिङ समूह ०.८४ प्रतिशतले घटेका छन्। त्यस्तै, वित्त ०.६१, लगानी ०.४७, लघुवित्त ०.४४, निर्जीवन बीमा ०.३९, व्यापार ०.३९, म्युचुअल फन्ड ०.३१ र जीवन बीमा समूह ०.१६ प्रतिशतले घटेको नेप्सेले जनाएको छ।

कम्पनीगत आधारमा हेर्दा आज ‘हिमालयन बैंक लिमिटेड बन्ड २०८६’ को मूल्य सबैभन्दा धेरै ६ प्रतिशतले वृद्धि भएको छ। त्यसैगरी, मूल्य सबैभन्दा धेरै घट्नेमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड रहेको छ ।