आजको मौसम : कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना, देशभर मेघगर्जनसहित वर्षाको चेतावनी

काठमाडौँ, वैशाख १६ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै पूर्वी भूभाग नजिक रहेको न्यूनचापीय प्रणालीको संयुक्त प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण आज देशका अधिकांश भूभागमा बदली रहनुका साथै विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना देखिएको छ ।

महाशाखाका अनुसार हाल गण्डकी प्रदेशका केही स्थानहरू तथा बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भूभागमा अहिले पूर्ण बदलीको अवस्था छ ।

दिउँसोको पूर्वानुमान
आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा पनि वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने महाशाखाले बुलेटिनमार्फत जानकारी दिएको छ । विशेषगरी कोशी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन भनिएको छ। तराईका केही क्षेत्रमा हुरीबतासको समेत जोखिम रहेको छ ।

रातिको पूर्वानुमान
आज राति पनि मौसममा सुधार हुने देखिएको छैन। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा वर्षा जारी रहने सम्भावना छ । रातिको समयमा कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा समेत मध्यम वर्षा र उच्च भेगमा हिमपातको सम्भावना रहेको छ ।